• २४ वैशाख २०८२, बुधबार

विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना

blog

विद्यालयलाई कोषको रकम प्रदान गर्नुहुँदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावली र कोष स्थापना गर्ने बानियाँ परिवार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस ६ गते । म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । स्थानीय निवासी स्वर्गीय हिराबहादुर बानियाँको स्मृतिमा उहाँको परिवारले हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष स्थापना गरेका हुन् । 

कोषबाट वार्षिक रुपमा अतिविपन्न, गरिब तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । 

शु्क्रबार विद्यालयमा आयोजित कार्यक्रमका बीच नेकपा एमालेका उपमहासचिव तथा पूर्व पराष्ट्रमन्त्री प्रदीप ज्ञावली, बानियाँका छोराहरु प्रकाश र किरण बानियाँले उक्त कोषको रकम विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानालाई हस्तान्तरण गर्नुभयो । पाँच लाखको अक्षयकोषलाई भविष्यमा २५ लाख रुपियाँसम्म पुर्याउने लक्ष्य रहेको परिवारले बताएका छन् । 

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव ज्ञावलीले शैक्षिक क्षेत्रमा सरकारको लगानी बढाउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "अहिले शिक्षा क्षेत्रमा न्यून लगानी छ । शैक्षिक क्षेत्रको सुधारका लागि राज्यले समग्र बजेटको २० प्रतिशत बजेट विनियोजन गर्नुपर्दछ ।" शैक्षिक क्षेत्रमा लगानीको न्यूनता र अन्य बेथितिहरुले गर्दा समग्र शैक्षिक क्षेत्र कमजोर हुँदै गएको उहाँको भनाइ थियो । 

"१२ कक्षा पास गरेपछि विद्यार्थीहरु विदेशी कलेजहरुमा पुग्ने अवस्था छ । शैक्षिक क्षेत्र सुधारमा ध्यान नदिने हो भने भविष्यमा हाम्रा विश्व विद्यालयहरु रित्तिने अवस्था हुनसक्छ, त्यसैले शैक्षिक सुधारमा सरकार,स्थानीय तह र सरोकारवालाहरु सवैले ध्यान दिन आवश्यक छ," उहाँले भन्नुभयो ।

गरिबी र विपन्नताका कारण बीचमै पढाई छाड्ने प्रवृत्ति बढेको बताउँदै उहाँले कोषले त्यस्ता विद्यार्थीहरुलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । शैक्षिक क्षेत्रको विकासका लागि बानियाँ परिवारले गरेको उदाहरणीय कार्यको उहाँले प्रशंसा व्यक्त गर्नुभयो । 

कोषबाट प्राप्त भएको ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब, विपन्न र उत्कृष्ट छात्रछात्रालाई वार्षिक रुपमा पुरस्कृत गरिने कोषका संरक्षक किरण बानियाँले बताउनुभयो । पाँच लाखबाट सुरु भएको अक्षयकोषको रकम भविष्यमा २५ लाख रुपियाँ पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । विद्यालयमा स्थापना भएको अक्षयकोषले शैक्षिक विकासमा ठूलो टेवा पुगेको प्रधानाध्यापक ढुङ्गानाले बताउनुभयो । 

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका ६ का वडाध्यक्ष किष्णशिंह बानियाँ, नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदी, प्रकाश माविका प्रअ लेखबहादुर हमाल लगायतले बानियाँ परिवारले विद्यालयमा स्थापना गरेको कोषले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।