समग्र ज्ञान र रणनीतिले दिगो दृष्टिकोण अङ्गीकार गर्दै समाजले सामना गरिरहेका जटिल र अन्तरसम्बन्धित मुद्दालाई सम्बोधन गर्न खोज्छ । यसको उद्देश्य शान्ति र समृद्धिलाई जोड दिई जनकल्याण, दिगो स्थिरता र समानतालाई बढावा दिनु हो ।
इजरायलमा प्यालेस्टिनी अतिवादी समूह हमासले हालै गरेको हिंस्रक आक्रमण र २१ औँ शताब्दीमा युक्रेनमा जारी द्वन्द्वसँगै इजरायलबाट भइरहेको प्रति आक्रमणबाट भएको नागरिक हताहत जस्ता अमानवीय घटनाले हाल मानवताले सामना गर्नुपर्ने गहिरो सङ्कट र चुनौती उजागर गर्छ ।
हामी प्रायः कुनै समूहमा समर्पित भएर अन्यायपूर्ण कार्यलाई पनि आँखा चिम्लेर वैधानिकता दिन्छौँ । प्रगतिशीलताको नारा लगाए पनि कुनै विशेष रुचि समूहप्रति स्पष्ट पूर्वाग्रह देखिएको पत्तै पाउँदैनौँ । फेरि आफू लाभान्वित नहुने स्थितिमा ठुला शक्तिशाली देशको साना कमजोर देशमाथिको थिचोमिचो, दबाब, र ज्यादतीलाई बेवास्ता गर्छौं । आतङ्कवाद विरोधी आक्रमणमा हामी प्रायः निर्दोष व्यक्तिमा हुने ज्यादतीलाई पर्वाह नगरी सम्पाश्विक क्षतिको रूपमा तर्कसङ्गत गर्छौं ।
यस्ता कार्यहरूले न्याय, समानुपातिकता र मानव अधिकारको सम्मानका आधारभूत सिद्धान्तलाई चुनौती दिन्छ । दुर्भाग्यवश, संसारका धेरै क्षेत्र अझै पनि विभिन्न प्रकारका हिंसाका गम्भीर परिणामबाहेक ग्लोबल वार्मिङको हानिकारक प्रभावको सामना गरिरहेका छन् । प्रायः सीमित बुझाइ र सतही उद्देश्यद्वारा निर्देशित वैज्ञानिक रचनात्मकताका आधारमा प्राकृतिक शक्तिहरूलाई चुनौती दिने मानव जातिको निरन्तर प्रयासले अन्ततः हामीलगायत संसारका निर्दोष बासिन्दाको अस्तित्वलाई खतरामा पारेको छ ।
प्रकृतिलाई बुझ्न नसक्दा वा नखोज्दा हामी र अरू प्राणीलाई जीवित राख्ने माटोको उर्वरतामा उल्लेखनीय गिरावट आएको छ । मानिसलाई लाग्छ कि पृथ्वी नभए उसले अर्को ग्रहमा बस्ती बसाल्न सक्छ । बुझ्नु पर्ने कुरा के हो भने माटोको उर्वरतामा जैविक र अजैविक पदार्थको संलग्नतालाई मानिसले उतार्न लगभग असम्भव जस्तै छ । प्रकृतिले सिर्जना गरेको हाम्रै मस्तिष्कको बारेमा हामीलाई धेरै कम थाहा छ ।
विश्वव्यापी स्तरमा अवस्थित भौतिकवादी संरचनाले उत्पादकत्व बढाउन व्यक्तिवाद र प्रतिस्पर्धालाई बढावा दिन्छ । यसले मानिसलाई असुरक्षित बनाई आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन बाध्य गराउँछ र निरन्तर आत्म–संरक्षणमा व्यस्त बनाउँछ । जब कि मानवको अतिक्रमण नभएको अवस्थामा बुद्धिहीन मानिएका जनावरमा यो समस्या देखिँदैन । फलस्वरूप, हामीमा तनावको स्तर बढेको छ । हामीभित्रको आन्तरिक प्रेम र करुणालाई पहिचान गर्ने हाम्रो क्षमतामा ह्रास आएको छ ।
मानवीयताको पहिचान गराउने समावेशी समाज निर्माण गर्ने जस्तो सामूहिक काममा आघात पुगेको छ । यसको विपरीत, बलियो सामाजिक समर्थन सञ्जाल र समुदायले मानव कल्याण र सहयोगलाई प्राथमिकता दिन्छन् र व्यक्तिहरूलाई सुरक्षा र सामीप्यको भावना प्रदान गर्न सक्छन् । यसरी आफूमा निहित मानवता फक्राउने वातावरण सिर्जना हुन्छ र मानव लोककल्याणमा समर्पित भई अर्थपूर्ण जीवन बाँच्न सक्छ ।
आधुनिकताको नाममा भौतिक सफलता हासिल गर्ने होड र भविष्यमा हुन सक्ने अभावको आशङ्काले आफ्नो व्यक्तिगत हितलाई अरूभन्दा माथि राख्न बाध्य बनाएको छ । यसले सहकार्यको सट्टा प्रतिस्पर्धामा केन्द्रित मानसिकता बनाउने अनि तनाव र चिन्तामा लपेटेर शारीरिक र मानसिक स्वास्थ्यमा चुनौती निम्त्याउने गर्छ । फलस्वरूप जानकारीमूलक निर्णय लिने र स्पष्ट रूपमा सोच्ने क्षमतामा ह्रास ल्याउँछ । यो दुश्चक्रले मानव कल्याण र शान्तिलाई बढावा दिन आवश्यक अन्तर्निहित मानवीय गुण–दया र परोपकारलाई झन् ओझेलमा पार्छ ।
विशेष गरी सुख र आनन्दलाई आर्थिक उन्नतिको ढाँचाभित्र जोडिएको छ जसमा प्रायः अल्पकालीन ज्ञानेन्द्रीय सन्तुष्टि समावेश हुन्छ । यसले मूल्यमान्यतामा विकृति निम्त्याउँदै छ र सामाजिक दबाबमा व्यक्तिहरूले आफूले चाहेको आफ्नो मूल्यहरूसँग प्रतिध्वनित हुने जीवनशैली बिताउन पाउँदैनन् । यो घटना विश्वव्यापी रूपमा अवलोकन गर्न सकिन्छ । परम्परागत आध्यात्मिक अभ्यास र मूल्यहरूले स्थायी खुसी अरूको भलाई र सन्तुष्टिसँग गाँस्छन् । यसका बावजुद पश्चिमी जीवनशैलीको अनुकरण गर्ने प्रयास गर्दा मानिसको स्वस्थ–जीवन शैलीलाई ठुलो धक्का पु¥याएको छ ।
समग्र ज्ञान र रणनीतिले शान्ति र समृद्धिबिचको जटिल सम्बन्धलाई आत्मसात् गर्छ । तिनीहरूको अन्तरनिर्भरता र सम्भावित तालमेललाई उजागर गर्छ । भौतिक उपलब्धिलाई खुसीसँग जोड्ने अहिलेको सामाजिक प्रवृत्तिले हाम्रो आत्मनिहित संवेदनशीलता र दयालुपनाबाट हामीलाई टाढा राखेको विषयप्रति ध्यानाकर्षण गराउँछ ।
तसर्थ, स्थायी शान्ति र समृद्धिको सुनिश्चितता गर्ने लक्ष्यको आधारभूत रूपान्तरणका लागि सरकार, नागरिक समाज, निजी क्षेत्र र व्यक्तिहरूको सामूहिक संलग्नता आवश्यक छ । यस एकीकृत प्रयासले संसारका सबै बासिन्दालाई समेटेर सीमाविहीन र समूहविहीन समानुपातिक, सामन्जस्यपूर्ण र समृद्ध संसार निर्माण गर्न सकिन्छ । यसले समाजका सबै वर्गलाई फाइदा पु¥याउने गरी दिगो आर्थिक वृद्धि र विकासलाई सुरक्षित गर्न सक्छ । साथै हाम्रो ग्रहको इकोसिस्टमलाई पनि सुरक्षित राख्छ ।
यी चुनौती सामना गर्न र मानव कल्याणका लागि प्राचीन र हजारौँ वर्षको समय–परीक्षण गरिएको वेद जस्तो दर्शनशास्त्रको अवलम्बन गर्न सक्छौँ । यसमा सामाजिक मूल्यमान्यतामा परिवर्तन ल्याउने समानुभूति, सहयोग र दिगो जीवन यापन गर्ने जस्ता विषयलाई बढावा दिइएको छ । अतः व्यक्तिगत सफलता र सामूहिक कल्याणबिचको सामन्जस्यपूर्ण सन्तुलनले व्यक्ति मात्र नभई सम्पूर्ण मानवतालाई लाभान्वित गर्दै शान्ति र समृद्धिमा टेवा पु-याउँछ ।