संस्कृति र शिक्षाको सम्बन्ध नङ र मासुको हुनु पर्छ । नवयुवामा विदेशमा मात्र प्रगति देख्ने दृष्टिकोण आएको शिक्षाको कारणले पनि हो । शिक्षाले आत्मसम्मान, रोजगारी र संस्कृति केही पनि दिन नसकेको आक्षेपबिच नवयुवा अनेक सपना लिएर पलायन भइरहेका छन् । माटो, संस्कृति र देश प्रेमसँग शिक्षा जोडिन नसकेकाले यस्तो भएको हो ।
सुदूर गाउँका साढे दुई–तीन वर्षका बालबालिका पहिलो पटक विद्यालय पुग्दा आफ्ना सम्पूर्ण परम्परागत पोसाकभन्दा पृथक् पोसाकमा सजिएर जान्छन् । विद्यालयमा पुग्दा सबै शिक्षक तथा सहपाठी पनि आफ्नो सामाजिक र सांस्कृतिक पहिरनभन्दा पृथक् पोसाकमा हुन्छन् । शिक्षक आउँछन् तब आफ्नो भाषाभन्दा फरक किसिमको भाषा र शैलीले बोल्न सुरु गर्छन् । जब पढाइ सुरु हुन्छ, तब त्यसमा अर्कै भाषाको पढाइ हुन्छ । विद्यालयका बालबालिका मातृभाषाभन्दा पृथक् विदेशी भाषा जति राम्रो बोल्छन् वा लेख्छन्, उति नै राम्रो कहलिन्छन् । विद्यालयदेखि घरसम्म प्रशंसित हुन्छन् ।
नजानिँदो किसिमले बालबालिकामा आफ्नो पहिरन, भाषा तथा संस्कृतिभन्दा अरूको नै राम्रो हुन्छ भन्ने भावनाको विकास भइरहेको हुन्छ । बालबालिकाको उमेर बढ्दै गएसँगै बिस्तारै पहिरन, शृङ्गार, प्रवृत्ति, चाडपर्व, खानपान, खेलकुद आदि अरूकै राम्रो लाग्दै जान्छ । आफ्नो समाज र संस्कृतिका सम्पूर्ण परम्परागत जीवनशैलीलाई पछौटेपनको प्रतीक र बाह्यावरणलाई आधुनिकता तथा सभ्यताको प्रतीकका रूपमा स्वीकार गर्दै बालबालिका कथित स्मार्ट बन्ने बाटोमा अग्रसर हुन पुग्छन् ।
माध्यमिक तहसम्म पुग्दा नपुग्दै बालबालिका तथा किशोरकिशोरीमा अरूको देखासिकी विदेश जानु नै प्रगति हो भन्ने मनोविज्ञानको विकास भइसक्छ । यसैको परिणामस्वरूप स्नातक तहमा पुगेपछि कामको खोजी तथा अध्ययन गर्न विद्यार्थीको पहिलो रोजाइमा विदेश नै पर्ने गरेको देखिन्छ । अधिकांश सक्षम अभिभावकले पनि छोराछोरीलाई विदेशबाटै स्नातक गराउन चाहन्छन् । समाजमा यो प्रवृत्ति कुनै महामारीको भन्दा बढी हानिकारक जस्तो फैलिइसकेको छ ।
वर्तमान समाजमा यस्तो नवसंस्कृतिको निर्माण भइसकेको छ कि जसका छोराछोरी विदेशमा अध्ययन गरिरहेका छन्, तिनको सान ठुलो मानिन्छ । जसका छोराछोरी विदेशमा पढ्दै घरमा पैसा पठाइरहेका छन् वा जसका छोराछोरी विदेशमा पढ्दापढ्दै एक/दुईचोटि आमाबुवालाई विदेश भ्रमणमा बोलाइसकेका छन्, तिनीहरू समाजमा स्वतः सम्मानित मानिन्छन् । यसले गर्दा आफ्नो गाउँठाउँमा बसेका युवा तथा सन्तानलाई विदेश पठाउन नसकेका अभिभावकमा केही हदसम्म एक किसिमको हीनताबोध हुन्छ । सन्तानलाई विदेश पठाउँदा गर्वबोध र आफैँसित राख्दा हीनताबोध हुने स्थितिले पलायन मोहलाई झन् बलियो बनाउँदै लगेको छ ।
हिमालदेखि तराई–मधेशसम्म करिब करिब उस्तै अवस्था रहेको छ । हिमाल र पहाडका गाउँ बिस्तारै खाली भइरहेका छन् । यसले यो पनि पुष्टि भएको छ कि पुर्खादेखिको थातथलोप्रति सम्मोहन रहेको छैन । विमोहन वा अर्थमोहले गाँज्दै लगेको छ । आफ्नो माटोप्रति नजानिँदो विकर्षण र अन्यत्र जहाँसुकै भए पनि अभ्यन्तरमा आकर्षण रहेको छ । यसले मनोसंस्कृतिको रूप धारण गर्न थालेको छ; जुन ज्यादै खतरनाक छ । यसले स्वदेशभित्रै पनि जनसङ्ख्या असन्तुलनमा सहयोग गरेको छ । एकातिर गाउँका खेत पर्ती बनिरहेका छन् भने अर्कोतिर सहर बजारको छेउछाउका खेतहरूमा पनि पक्की घर उम्रिरहेका छन् । शिक्षार सञ्चार माध्यमले आफ्नोपनप्रति अपनत्व जगाउन नसकेको देखिन्छ ।
पछिल्लो दशकमा सञ्चार माध्यमलाई हेर्ने हो भने अधिकांशमा नकारात्मक समाचार प्रवाह बढी भएको पाइन्छ । नकारात्मक समाचारले नकारात्मक मनोविज्ञान पनि सञ्चार गर्छ । नकारात्मक मनोविज्ञान सिर्जना गर्ने समाचारले पनि नवयुवालाई यहाँ कुनै पेसा अपनाउन हतोत्साहित गरेका छन् । निराशा उत्पन्न गर्ने समाचार तथा सामग्रीले युवा मनोविज्ञानमा स्वदेशप्रति निराशा तथा परदेशप्रति आशाको किरण देखाएका छन् । सञ्चार माध्यमले असल नियतले यस्ता सामग्री प्रवाहित गरेको भए पनि समाजमा देखिएको प्रभाव भने प्रत्युत्पादक बन्न पुगेको छ । अब सञ्चार माध्यमले पनि सामग्री प्रवाह गर्दा केही संवेदनशील र जिम्मेवार हुनु परेको छ ।
विदेश गएर उतै व्यवस्थित हुनेहरू प्रायः फर्किंदैनन् । विदेशमा अपेक्षानुरूप नहुँदा एक किसिमले असफल भएकाहरू यहाँ फर्केर आउँदा आफूसित आनीबानी, चालचलन तथा केही हदसम्म संस्कृति पनि लिएर आएका हुन्छन् । विदेशबाट फर्केर आउनेहरूमध्ये केहीले यहाँ निकै राम्रो गरेका छन् । निकै राम्रो गर्नेहरूले पनि आफ्ना सन्तानलाई फेरि विदेश नै नपठाएका होइनन् । यद्यपि विदेशमा सिकेको सिप, विदेशमा आर्जन गरेको सम्पत्ति तथा विदेशमा गर्न सिकेको श्रमको लगानी स्वदेशमा गर्ने हो भने अरूलाई पनि विदेश नजाने प्रेरणा प्राप्त हुन्छ तर यस्ता उदाहरण दुर्लभ बन्न पुगेका छन् ।
अन्य कतिपय कारणले पनि वर्तमान सेरोफेरो संस्कृति बिर्साउने किसिमको बन्दै गएको छ । देशमा संस्कृति मन्त्रालय छ । संस्कृति मन्त्रालयले हाम्रो देशको संस्कृति बचाउन पहल लिनु जरुरी छ । संस्कृतिको परिसीमाभित्र बोल्ने, विचार गर्ने तथा बाँच्ने तरिका पनि पर्दछन् । साथै हाम्रो मूलभूत पहिचान पनि संस्कृति नै हो । संस्कृतिलाई हामीले हाम्रो परिचय, पहिचान तथा अनुभूति बनाउन सकेका छैनौँ । कुनै जरुरी छैन कि विद्यालयका बालबालिकालाई परदेशी पहिचानको पोसाक पहि-याएर स्मार्ट बनाऔँ । जुन विद्यालयमा जुन संस्कृतिका बालबालिकाको बाहुल्य छ, त्यहाँ सोही अनुसारको औपचारिक विद्यालय पोसाक निर्धारण गर्दा हुन्छ ।
बालबालिकालाई माटोसित जोड्नु छ । अझ सम्भव हुन्छ भने कम्तीमा प्राथमिक तहसम्म बालबालिकाका सम्पूर्ण पाठ्यपुस्तक मातृभाषामा र सम्बन्धित पालिकाको विषयवस्तु मात्र पठनपाठनको व्यवस्था राम्रो हुन्छ । अनि निम्न माध्यमिक तहमा जिल्ला र प्रदेश तथा माध्यमिक तहमा प्रदेश र देशको सम्पूर्ण सामाजिक, सांस्कृतिक पहिचान तथा मूल्य र मान्यतालाई सिक्ने र सिकाउने अवसर दिनु पर्छ । जसले समाज, संस्कृति र देशलाई चिन्न, बुझ्न तथा अपनत्व ग्रहण गर्न सजिलो हुन्छ । शिक्षकलाई सामाजिक अगुवा पनि मानिन्छ । शिक्षकलाई पनि आफ्नो संस्कृतिको पोसाक लगाउन प्रोत्साहन गर्ने हो भने अन्य क्षेत्रका नागरिकलाई स्वाभाविक रूपमा आफ्नो परम्परागत पहिरनप्रति हीनताबोध हुँदैन ।
विदेश पलायनको मोह तथा सांस्कृतिक विकर्षणले गर्दा आफ्नै घर र समाजको संस्कृति बुझ्न अहिले कतै सांस्कृतिक कार्यक्रम हेर्नु परेको छ वा गुगल जस्तो सर्च इन्जिनमा खोज्नु परेको छ । पहुँच हुनेका अगाडि सांस्कृतिक ऐना छ तर देशको सबै संस्कृतिलाई देखाउने ऐना अझै बन्न सकेको छैन । धेरै संस्कृति लोप भइसकेका छन् र धेरैमा क्षयीकरण निरन्तर चलिरहेको छ ।
सांस्कृतिक परिवर्तनको नाममा हाम्रा कतिपय अमूल्य सांस्कृतिक सम्पदा हामीबाट हराउँदै गएका छन् । जब कुनै समाजको सांस्कृतिक पहिचान हराउँछ तब त्यस समाजलाई चिनाउन केही बाँकी रहँदैन । भाषिक तथा सांस्कृतिक विविधताले प्रकृति जस्तै सम्पन्न यस देशबाट आर्थिक कारणले मात्र सर्वसाधारण पलायन भएका होइनन् । संस्कृतिलाई प्रवर्धन गर्ने हो भने धेरै हदसम्म पलायन रोकिन सक्छ ।
हाम्रो देशको संस्कृतिमा विदेशी पर्यटक आकर्षित गर्ने क्षमता छ । स्वदेशी पर्यटकलाई पनि एकले अर्काको संस्कृति बुझ्न अझ बाँकी नै छ । सांस्कृतिक आदानप्रदान तथा अन्तर्घुलनले पनि रोजगारी सिर्जना गर्न सक्छ । सांस्कृतिक पर्यटनले पनि सम्पन्नताको उकालोमा उक्लिन होस्टेमा हैँसे गर्न सक्छ । अलिकति सांस्कृतिक चेतना विस्तार हुँदै गएको वर्तमानमा सांस्कृतिक संरक्षणको उज्यालो ज्योति छर्न बुद्धिजीवी, संस्कृतिप्रेमी तथा सञ्चार माध्यमले सांस्कृतिक सम्पदाको संवर्धनलाई केन्द्रीय प्राथमिकतामा राख्नु परेको छ । यद्यपि संस्कृतिको नाममा रहेका अन्धविश्वास र अन्य विकृतिलाई भने निमिट्यान्न पार्दै हाम्रो सांस्कृतिक मूल्य तथा मान्यतालाई अक्षुण्ण राख्नु परेको छ । संस्कृतिको संरक्षणले राष्ट्रियता प्रवर्धन तथा सबै वर्ग र उमेरका मानिसलाई विदेश पलायनबाट रोक्न सकिने सचेतना स्वाभाविक रूपमा प्रदान गर्ने कुरालाई बुझ्नु पनि जरुरी छ ।