• २० असोज २०८१, आइतबार

नौमती बाजा घन्काउँदै महिला

blog

प्रेम अधिकारी

पशुपतिनगर(इलाम), पुस ५ गते । इलामको सूर्योदय नगरपालिका-९ की वेदकुमारी पाण्डे ५३ वर्षको उमेरमा नौमती बाजा बजाउन सिक्दै हुनुहुन्छ । लगातार १० दिनसम्म नौमती बजाउन सिकेपछि उहाँलाई अब व्यवसायीक रूपमा बाजा बजाउने रहर छ । 

पाण्डेले भन्नुभयो, "नौमती बाजा हाम्रो परम्परागत संस्कृति हो, सिक्नका लागि उमेर र जातले छेक्ने कुरै भएन । सूर्योदय नगरपालिका-९ मा अरुणा अन्तर महिला समूहको आयोजना र सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको आर्थिक सहयोगमा महिलाहरूले नौमती बाजा बजाउने तालिम लिएका छन् ।" विगतमा दलित समुदायले मात्र बजाउने नौमती बाजा आजभोलि सबै जातजातिका महिलाले सिकेको आयोजक अरुणा अन्तर महिला समूहका अध्यक्ष गोमादेबी तिम्सिनाले बताउनुभयो ।

"महिलालाई व्यावसायिक बनाउनका लागि नौमती बाजाको प्रशिक्षण दिएका हौँ, जाती विशेषको बाजा भन्ने अब कुनै दुबिधा रहेन", अध्यक्ष तिम्सिनाले भन्नुभयो । दश दिनसम्म सञ्चालन भएको तालिमको बिहीबार एक कार्यक्रमकारबिच समापन गरिएको हो । समापनको अवसरमा प्रशिक्षार्थी महिलाले नौमती बजाएर उपस्थित सबैलाई झमझम नचाए । २५ वर्षीय प्रशिक्षार्थी दिपा भट्टराईले नौमती बाजा बजाएर व्यवसायीक रूपमा काम गर्ने बताउनुभयो । 

वडा नं. ९ को निगरानीमा ११ सदस्यीय बाजा टोली बनाइएको छ । आगामी दिनमा विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वमा महिलाहरू बाजा बजाउन जाने वडा नं. ९ का वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "नगरको दिगो विकासका लक्ष्य पुरा गर्नका लागि नौमती बाजालाई व्यवसायीकरण गर्नुपर्छ ।"

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख चित्रकला बराइलीले महिलाहरूले नौमती बाजा बजाउन थाल्नु समाज रूपान्तरणको आधार भएको बताउनुभयो । उहाँले पुरुषले मात्र नौमती बाजा बजाउने चलनको अन्त्य भएको भन्दै व्यावसायिक बन्नका लागि महिलाहरूलाई थप सहयोगको खाँचो रहेको बताउनुभयो । 

स्थानीय दलित अगुवा कमल गदालले नेपालमा छ सय ५० बढी बाजा नेपालमा बजाइने गरिएको अध्ययनले देखाएको जानकारी दिँदै आफ्नो वरिपरि रहेका बाजाको संरक्षणमा समेत मद्दत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, "हजारौँ वर्ष पुराना बाजा सबै समुदायले बजाउनु भनेको नै सभ्य र विभेद रहित समाजको निर्माण हुनु हो ।"

कार्यक्रममा सूर्योदय नगरपालिकाका पूर्व उप प्रमुख दुर्गादेवी भराईले महिलाहरू पुरुषबाट निर्देशित बन्दै आएकाले महिलाहरू आफैँ रचनात्मक बन्नु पर्नेमा जोड दिनुभयो । उहाँले तालिम दिएर र सिकाएर मात्र नहुने भन्दै नौमती बाजालाई नगरपालिकाले संस्थागत गर्नुपर्ने बताउनुभयो । 

९३ वर्षीय स्थानीय अगुवा उक्तमराज शर्माले शुभकार्यमा बजाइने नौमती बाजा समाज रूपान्तरणको आधार भएको बताउनुभयो । नगरको महिला बालबालिका तथा समाजकल्याण शाखाले महिलालाई व्यावसायिक बनाउन विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । अचार बनाउने, बाँसका सामग्री बनाउनेदेखि नौमती बाजासम्मको तालिम शाखाले महिलाहरूका लागि सञ्चालन गरेको शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनुभयो । उहाँले नगरको दिगो विकासका दुई सय ३२ सूचकमध्य एउटा सूचक महिलाका लागि नौमती बाजा बजाउने तालिम रहेको जानकारी दिनुभयो । 

दश दिनसम्म सञ्चालन भएको तालिममा-९ नं. वडाका ११ जना महिला सहभागी थिए । तालिममा झापाबाट आएर तारा आचार्य र टिका प्रसाईँले प्रशिक्षण दिनु भएको थियो । समूहका लागि नगरले नौमती बाजा समेत खरिद गरिदिएको छ । 

यसअघि देखि नै इलाम नगरपालिका-९ का महिलाले व्यावसायिक रूपमा नौमती बाजा बजाउने गरेका छन् ।