• १३ असोज २०८१, आइतबार

‘जगदीश स्मृति’ लोकार्पण

blog

काठमाडौँ, पुस ५ गते । महेश प्रसाईको सम्पादनमा जगदीश नेपालीको स्मृतिग्रन्थ ‘जगदीश स्मृति’ को लोकार्पण भएको छ । 

राजधानीमा बुधबार आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, प्राडा माधवप्रसाद पोखरेल, गीतकार यादव खरेल, प्राज्ञ आरडी प्रभास चटौतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो । 

समारोहमा प्राडा दयाराम श्रेष्ठले जगदीश नेपाली तीव्र सामाजिक दृष्टि भएको चेतनशील स्रष्टा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जगदीशले समाजमा नारीहरूमाथि हुने गरेका अन्याय र अत्याचार गर्ने, मादक पदार्थ सेवन गरी हिँड्नेहरू, शोषण गर्नेहरूको विरुद्धमा सधैँ आवाज उठाउने गर्नुहुन्यो । मानिसहरूको निकृष्ट मनोवृत्तिका कारण समाजबाट नैतिक मूल्यहरू टाढिँदै गएको देखेर लघुकथा लेखेको प्राडा श्रेष्ठले बताउनुभयो । 

यस्तै गीतकार यादव खरेलले पनि जगदीश नेपालीको स्मृतिग्रन्थ सबै साहित्यकार, कलाकार र आमनेपालीले पढ्नुपर्ने विषय रहेको जानकारी दिनुभयो ।

सीता बस्नेत (सापकोटा) ले प्रकाशन गर्नुभएको सो स्मृतिग्रन्थमा ६३ जना लेखकले नेपालीको जीवनी, योगदान बारे लेख्नुभएको छ भने जगदीश नेपालका लघुकथालाई पनि समावेश गरिएको छ । पण्डित दुर्गाहरि नेपालले वैदिक मन्त्रोच्चारणद्वारा समाजसेवी तथा ग्रन्थका प्रकाशिका सापकोटालाई एकादशी साधना सम्मान गरिएको थियो । 

यस्तै कार्यक्रममा साहित्यकार लव गाउँले, गोपी मैनाली, डा. शेखरकुमार श्रेष्ठ, डा. तुलसी भट्टराई र कवि प्रह्लाद पोखरेलले जगदीश नेपालीको बहुआयामिक पाटामाथि प्रकाश पार्नुभएको थियो ।