• ९ मंसिर २०८१, आइतबार

अव्यवस्थित वृत्तिविकासका असर

blog

सामान्यतया निजामती कर्मचारी सबैले सहज तरिकाले बुझ्ने वृत्तिविकास भनेको पदोन्नति हो तर वृत्तिविकासलाई पदोन्नतिमा मात्र सङ्कुचन गर्न मिल्दैन । प्रस्ट भन्नु पर्दा व्यावसायिकताको विकासका लागि गरिने सामाजिक रूपमा स्वीकार्य जीविकोपार्जनको माध्यम नै वृत्तिविकास हो । यसैको सेरोफेरोमा केन्द्रित बन्दै वृत्तिविकासका बारेमा विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसैले वृत्तिविकासमा भर्ना तथा छनोट पूर्ण रूपमा योग्यता प्रणालीमा आधारित हुन्छ । मानिसको क्षमता, योग्यता, अनुभवसमेतलाई दृष्टिगत गरी उसबाट अत्यधिक उपलब्धि प्राप्त गर्न सक्ने अभिप्रायले पदस्थापन गरिन्छ, जसबाट व्यक्ति स्वयम् पनि आफूले प्राप्त गरेको जिम्मेवारीप्रति सन्तुष्ट र अभिप्रेरित हुन पुगोस् । यसरी जिम्मेवारी प्रदान गरिँदा सङ्गठनले निश्चित अवधिभित्र के कस्तो नतिजा उसबाट प्राप्त गर्न खोजेको हो प्रस्ट र औपचारिक रूपमा नै प्रदान गरी त्यसैको आधारमा आवधिक मूल्याङ्कन हुनु पर्छ । 

कर्मचारीहरू गलत क्रियाकलापमा संलग्न नहुन् भन्नाका लागि व्यावसायिक निष्ठा कायम गर्न पूर्ण रूपमा परिभाषित आचारसंहितामा आबद्ध गराउनु पर्छ । काम गर्ने वातावरण पूर्ण रूपमा प्रदान गर्ने व्यवस्था सङ्गठनले मिलाउन सक्नु पर्छ । सङ्गठनबाट सधैँ नयाँ नयाँ ज्ञान, सिप आर्जन गर्दै जाने परिस्थिति निर्माण गर्नु पर्छ । सङ्गठनमा कार्यरत रहँदा सामना गर्नुपर्ने विभिन्न प्रकारका चुनौतीका लागि उत्साहित बन्दै समाधानमा पुग्नु पर्छ । आफ्नो समयको लगानी गरेबापत उपयुक्त क्षतिपूर्ति अथवा तलबलगायत सुविधा कर्मचारीले यथासमयमा न्यायोचित प्रकारले प्राप्त गर्नु पर्छ । असल मनसायका साथ कर्तव्य निर्वाह गर्दा सेवाको सुरक्षा गरिने पर्याप्त व्यवस्था हुनु पर्छ । सामाजिक सुरक्षाको व्यवस्था प्रदान गरिँदा कामप्रति अभिप्रेरित हुने वातावरण तयार हुनु पर्छ । यसले कर्मचारीमा थप ऊर्जा पनि प्राप्त हुन्छ । 

कुनै पनि कर्मचारीले इमानदारीका साथ कर्तव्य निर्वाह गर्दै अगाडि बढ्दा उसको वृत्तिको शृङ्खलासहितको भविष्यको सुनिश्चितता गरिएको हुनु पर्छ । वृत्ति शृङ्खला पूर्ण रूपमा अनुमान गर्न सकिने हुनु पर्छ । काम गर्दै जाँदा थप सिप र योग्यताको विकास गर्दै व्यावसायिकताको प्रवर्धन हुने पद्धतिको प्रत्याभूति भएको हुनु पर्छ । पद अनुकूल आचरण गर्दा सबै हिसाबले प्रोत्साहित हुने र यस्तो पेसामा संलग्न भएकै कारण समाजबाट विशेष कदर गरिएको मनोवैज्ञानिक अनुभूति प्रत्येक कर्मचारीले महसुस गर्न सक्नु पर्छ । वृत्तिविकास प्रणालीले कर्मचारीहरू कार्यरत रहँदा मात्रै होइन, सेवाबाट अवकाश प्राप्त गरिसकेपछि पनि उनीहरूका लागि उपयुक्त व्यवस्था गरिनु पर्छ । यसो हुँदा उनीहरू मनोवैज्ञानिक रूपमा कामप्रति थप लगाव दिन थाल्छन् । त्यसैले वृत्तिविकास भनेको पदोन्नति, तलब, भत्तालगायत मौद्रिक र गैरमौद्रिक सुविधाहरू मात्र होइन, पर्याप्त सिप र योग्यता हासिल गरी अवकाशपछि पनि त्यस्तो आर्जित सिपको सदुपयोगबाट समाजमा सेवा पु-याउन सक्ने हैसियतमा रहने स्थिति निर्माण गर्नु हो । यसको अलावा जुन सङ्गठनमा कार्यरत रहेको हो, त्यससँग सम्बन्धित व्यक्ति सेवाग्राहीसँग मित्रवत् व्यवहार गरी सन्तुष्ट राख्न सक्नु पनि हो । यस अर्थमा निजामती कर्मचारीको वृत्तिविकासको पूर्णता भनेको सेवाग्राही जनताप्रतिको सेवाभावको कारण जनताबाटै प्रशासित हुन सक्नु हो ।

अब नेपालको निजामती सेवाभित्र देखिएको वृत्तिविकास प्रणालीको बारेमा विश्लेषण गरौँ । वृत्तिविकासका बारेमा छलफल गर्दा योग्यता प्रणालीमा कुनै पनि अर्थमा समझदारी हुनु हुँदैन । हामीकहाँ समावेशीकरणको सिद्धान्तले गर्दा योग्यता प्रणालीमा समझदारी भइराखेको छ । सेवाको गुणस्तर घट्दै छ । समावेशीकरणले निर्धारत गरेको गन्तव्य प्रस्ट छैन । आर्थिक पक्षलाई गौण मान्दै वर्ग, क्षेत्र, जातजाति, सम्प्रदायमा आधारित बनाइएको छ । परिणामतः गुणस्तरयुक्त जनशक्ति सेवा प्रवेश गर्न रुचाउँदैनन् । कमजोर वर्गलाई राहत दिन यो नीति असफल बन्दै छ र समाजमा थप द्वन्द्वको अवस्था सिर्जना भइराखेको छ । अन्ततोगत्वा सीमित योग्यता प्रणालीबाट कर्मचारीको भर्ना तथा छनोट भइराखेको छ । पदस्थापना र सरुवा प्रणाली अत्यन्त विवादास्पद बनिराखेको छ । उपयुक्त व्यक्ति उपयुक्त स्थानमा सेवारत रहन पाउने अवस्था न्यून छ । राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा सम्पादित हुने पदस्थापना र सरुवाले सङ्गठनको गन्तव्यमा पुग्न सक्ने सम्भावना बिलकुल देखिँदैन । पदोन्नति प्रक्रिया वा यसका आधारहरू आफैँमा आलोचित छन् । त्यसमा पनि निश्चित व्यक्ति वा समूहलाई अवसर दिनका लागि पटक पटक पदोन्नतिका आधारहरू फेरबदल भइराखेका छन् । प्रशिक्षण कार्यक्रमले कार्यरत अवस्थामा सघाउन सफल भएको पाइँदैन । यस्ता प्रशिक्षण पनि विशेष गरी पदोन्नतिका लागि औपचारिकता निर्वाह गर्ने प्रकारका छन् । आवश्यकता अनुरूप व्यावहारिक प्रशिक्षण पर्याप्त दिन सकिएको पाइँदैन । कार्यविवरणसम्म औपचारिकता पूरा गर्न तयार पारिएको छ तर समान तहको एउटै पदमा कार्यरत व्यक्तिको जिम्मेवारी र सेवा एवं सुविधा अत्यन्त नमिल्दो प्रकारले प्रदान गरिँदा सेवाभित्र व्यापक असन्तुष्टि छ । कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन र प्रक्रिया पूर्ण रूपमा वस्तुगत बनाउन सकिएको छैन, अपारदर्शी छ । यसरी औपचारिकता निर्वाह गर्ने प्रकारले गरिएको मूल्याङ्कनको उपयोग खासै हुन सकेको छैन । 

कर्मचारीले प्राप्त गरिराखेका तलबलगायत सुविधा न्यूनतम आवश्यकता पूरा गर्न सक्ने गरी प्रदान गरिएको छैन । काम गर्ने अनुकूल वातावरणको अभाव छ । अत्यन्त ज्यादा दबाबमा काम गर्नुपर्ने अवस्था छ । जिम्मेवारीको स्पष्ट खाका तयार पारी प्रदान गरिएको छैन । प्राप्त जिम्मेवारी पूरा गर्नका लागि आवश्यक स्रोतसाधनको अपर्याप्तता छ । कार्य प्रक्रियामा प्रवेश गर्दा थुप्रै प्रकारका जटिलता, दोहोरोपना पाइन्छन् । कार्य सम्पादनका आधारमा दण्ड दिने र पुरस्कृत गर्ने उपयुक्त प्रणालीको अभाव छ । यसका थुप्रै उदाहरण दिन सकिन्छ । प्रतिनिधि उदाहरणका रूपमा एउटै व्यक्ति सर्वोत्कृष्ट निजामती कर्मचारीबाट पुरस्कृत हुने र आफ्नो कार्य गर्दा सोही वर्ष कालो सूचीमा दर्ज भएको स्थिति छ । खोजी गर्दा यस्ता थुप्रै उदाहरण पाउन सकिन्छ । 

देश सङ्क्रमणकालबाट लामो समयदेखि गुज्रिनु, लोकतन्त्रको संस्थागत विकास भई नसक्नु, राजनीतिज्ञहरू अनुशासित नहुनुले निजामती सेवाभित्रको वृत्तिविकास प्रणाली प्रभावित भइराखेको छ, जसबाट कर्मचारीको कार्यसम्पादन अत्यन्त कमजोर, न्यून गुणस्तरको हुँदै गएको छ । यसले समग्र निजामती कर्मचारी सेवाग्राही जनताको दृष्टिमा सर्वस्वीकार्य हुन सकिराखेका छैनन् । सेवाभित्र राजनीति हाबी भएको छ । सबै कर्मचारीलाई राजनीतिक आधारमा विभाजन गर्ने गलत प्रवृत्ति र ट्रेड युनियन एवं सामूहिक सौदाबाजीको अधिकारको दुरुपयोगबाट प्रशासनिक मूल्य, मान्यता, अनुशासन, मर्यादा प्रायः समाप्त भएको छ । यसले हालको अवस्थामा वृत्तिविकास प्रणाली क्षतविक्षत हुन पुगेको छ । यस अवस्थामा सङ्गठनले आफ्नो उद्देश्य प्राप्त गर्न सक्ने सम्भावना न्यून रहन्छ । त्यही परिस्थितिबाट नेपालको निजामती सेवा गुज्रिराखेको छ ।

वृत्तिविकासको मार्ग सेवारत रहँदा मात्रै लागु हुने होइन । सेवा निवृत्त भएपछि पनि यो आकर्षित हुनु पर्छ । नेपालको निजामती कर्मचारीलाई सेवा निवृत्त भएपछि पनि केही सुविधा प्रदान गरिएको छ । बिस वर्ष सेवा अवधि पूरा गरी अवकाश पाएकालाई निवृत्तिभरण र निवृत्तिभरण अवधि नपुगी अवकाश हुनेलाई उपादन प्रदान गर्ने व्यवस्था छ । नेपाल निजामती अस्पतालमा सहुलियत दरमा उपचार सेवा निवृत्त कर्मचारी र उसका परिवारलाई समेत उपलब्ध गराइएको छ । सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने, राजनीतिमा सहभागी हुन पाइने, व्यापार व्यवसाय गर्न पाइने, नागरिक समाजमा संलग्न भई सेवारत रहन बाधा नपर्ने, विभिन्न प्रकारका प्राज्ञिक काम पारिश्रमिक लिई वा नलिई गर्न पाइने, सरकारी एवं संवैधानिक निकाय एवं राजदूतमा काम गर्न अवसर पाउन सक्ने, विज्ञको रूपमा उपयुक्त सुविधा दिई काममा सरकारले लगाउन सक्ने जस्ता व्यवस्था अवकाश प्राप्त कर्मचारीका लागि गरिएको छ तर यसले मात्रै अवकाशपछिको जीवन सदुपयोग गरी उनीहरूको अनुभव र विज्ञतालाई राष्ट्रको हितमा उपयोग गर्न पर्याप्त हुँदैन । अवकाश भएका कर्मचारीको सम्पूर्ण अभिलेख राखी उनीहरूको योग्यता, क्षमता, अनुभव एवं सिपको आधारमा जिम्मेवारी दिने गरी योजना बनाउनु पर्छ । 

छिमेकी देश भारतमा निजामती सेवामा प्रवेश गरेपछि उनीहरूको समग्र विकासका शृङ्खलाहरू (अवकाशपछि पनि) प्रायः पारदर्शी जस्तै हुन्छ । सेवा प्रवेश गरेका कर्मचारीले उसको कार्यक्षेत्र कुन कुन समयमा कुन कुन स्थानमा हुने, पदोन्नति कुन कुन समयमा हुने र कुन पदसम्म पुग्ने प्रस्ट हुन्छ । अवकाश प्राप्त कर्मचारीहरू अझ नीति, निर्माणको तहमा लामो अनुभव भएकालाई राज्यले नै राष्ट्र निर्माणमा लगाउने योजना बनाएको छ । नेपालमा अहिलेसम्म यी कुनै पनि विषयको योजना बनेको छैन । त्यसैले सरकारले यस्ता कर्मचारीको विज्ञता र अनुभवको अभिलेख तयार पारी आवश्यकता अनुसार योगदान गर्न लगाउने र उनीहरूको सेवा लिनका लागि सम्बन्धित निकायमा समेत सिफारिस गर्ने प्रणालीको विकास गर्नु जरुरी छ । 

अवकाशप्राप्त कर्मचारीलाई विज्ञताको उपयोग हुन सक्ने क्षेत्रको पहिचान गरी परामर्श सेवा उपलब्ध गराउनु पर्छ । अवकाश प्राप्तपछिको जीवनको सदुपयोग गराउनेतर्फ अभिमुखीकरण कार्यक्रमको आयोजना बेलाबखत गर्नु पर्छ । विभिन्न प्रकारका अनुसन्धान केन्द्रको व्यवस्था मिलाई त्यहाँ उनीहरूलाई कार्य गर्ने वातावरण प्रदान गर्न सरकार सहजकर्ता बन्नु पर्छ । यस प्रकारको व्यवस्था सरकारले मिलाउँदा राष्ट्रसेवकले आफ्नो ऊर्जाशील समय पूरै व्यतीत गरी प्राप्त अनुभव र विज्ञताको सदुपयोग हुन पुगी राष्ट्र निर्माणमा योगदान पुग्न थाल्छ । अवकाश हुनेले पनि समयको सदुपयोग गर्न पाउने स्थिति बन्छ तर यसतर्फ नेपाल सरकारको ध्यान जान सकेको छैन । 

देशको अर्थतन्त्रले भ्याएसम्म वृत्तिविकास प्रणालीलाई सुदृढ गर्न नेपाल सरकार क्रियाशील भएको आभास मिल्छ तर हाम्रा निजामती कर्मचारीको वृत्तिविकास योजना व्यवस्थित हुन नसकेको यथार्थतालाई स्वीकार गर्नु पर्छ । वृत्तिविकास यस्तो पक्ष हो, जसले समग्र संयन्त्रलाई जीवन्तता प्रदान गर्दै क्रियाशील बनाउन सहयोग पु-याउँछ । व्यवस्थित नहुँदाको अवस्थामा कर्मचारीहरू नै प्रत्युत्पादक बन्ने अवस्था सिर्जना हुन्छ । समग्र पक्षलाई दृष्टिगत गर्दै व्यवस्थित वृत्तिविकास गरिँदा कर्मचारी सङ्गठनको उद्देश्य प्राप्तितर्फ सफलता प्राप्त हुन्छ । हाम्रो सन्दर्भमा यसको अभाव छ । 

कर्मचारी संयन्त्र सोचे अनुरूप उत्पादनशील हुन सकेका छैनन् । फलस्वरूप सार्वजनिक सेवा प्रवाहको क्षेत्र नकारात्मक रूपमा प्रभावित भइराखेको छ । कर्मचारीहरू जनताका दृष्टिमा असल बन्न सकिराखेका छैनन् । सरकार र जनता दुवैबाट आलोचित छन् । तसर्थ सरकारले वृत्तिविकास प्रणालीलाई उल्लेख भए अनुसारका विषयलाई सम्बोधन गर्दै शीघ्र व्यवस्थित, पारदर्शी, उत्पादक बनाउने हिसाबले गृहकार्य गरी कार्यान्वयनमा जानु पर्छ । 

  

Author

श्यामप्रसाद मैनाली