• २७ पुस २०८१, शनिबार

सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन : सञ्चारमन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । फाइल तस्बिर

काठमाडौं, पुस ३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुग्ने बताउनुभएको छ।  मंगलबार प्रविधि पत्रकार मञ्चको कार्य समितिसँग मन्त्रालयमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो।  

सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानुनी र संरचनागत सुधारकै लागि गृहकार्य भइरहेको उहाँको भनाइ छ। 

मन्त्री शर्माले भन्नुभयो, ‘‘एकातिर सूचना प्रविधि आज हरेक मानिसको जीवनशैली बन्दैछ भने अर्कोतिर नेपालमै बसेर नेपालीले संसारसँग प्रतिस्पर्धा गर्ने एक मात्र आधार सूचना प्रविधि बन्दैछ।  हामीले नेपालमा स्थापना गरेका अन्य उद्योगधन्दा सूचना प्रविधि क्षेत्रमा गरिएको उत्पादनले सीमाविहीन रूपमा संसारभित्र प्रतिस्पर्धा गर्न सकिने अवस्था बन्दै छ, यो अवसरलाई आत्मसात् नीतिगत र संरचनागतरुपमै परिवर्तन आवश्यक देखिएको छ। ’’

नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्नुहुँदै उहाँले यसका आधारमा अहिले कानुनको मस्यौदा भइरहेको जानकारी दिनुभयो। 

डिजिटल नेपाल फ्रेमवर्क बनेको चार वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएको भन्दै त्यसको एउटा अङ्ग डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) प्रोजेक्टको पुनसंरचना अन्तिम चरणमा पुगेकोसमेत उहाँले जानकारी दिनुभयो।  

मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले डिजिटल पूर्वाधार निर्माण गर्न सक्ने भए पनि बाँकी शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, वित्त, सहरी विकासलगायतका क्षेत्रसँग पनि जोडिएकाले सबै पक्षसँग आवश्यक समन्वय आवश्यक रहेको बताउनुभयो।  

सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता र आधारभूत आवश्यकताको रूपमा ग्रहण गरे पनि सबै सरकारी निकायको बुझाइमा एकरूपता नहुँदा समस्या हुने गरेकोमा पनि मन्त्री शर्माले सबै सरकारी निकायको ध्यानाकर्षण गराउनुभएको छ। 

सरकारले यही वर्ष जारी गरेको फ्रिक्वेन्सी नीति र सम्पत्ति व्यवस्थापन नियमावलीले दूरसञ्चारको क्षेत्रमा डिपार्चर नै गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्दा डराउनुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो। 

‘‘मन्त्री होस् वा कर्मचारी दिमागमा राष्ट्रहितलाई काम गरेर अगाडि बढ्ने हो भने कोही पनि डराउनुपर्दैन’’, उहाँले भन्नुभयो, ‘‘सञ्चार तथा सूचना प्रविधिको क्षेत्र थप संवेदनशील भएकाले पनि धेरै गर्न नै नसकिएला तर राष्ट्रलाई क्षति हुने गरी कुनै काम हुनुहुन्न भन्नेमा हामी स्पष्ट छौँ, नीति र विधिमै रहेर पनि सूचना प्रविधिको क्षेत्रमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास छ।’’


सूचना प्रविधिको विकासमार्फत युवालाई देशभित्रै बस्न प्रेरिरत गर्ने गरी केही विशेष कार्यक्रम गर्ने तयारी थालेको मन्त्री शर्माले जानकारी दिनुभयो।  आइटी एक्जिविसन, डिजिटल च्याम्पियन, डिजिटल स्किलजस्ता कार्यक्रममार्फत यो क्षेत्रमा नयाँपन दिने प्रयासमा आफू लागेको उहाँले स्पष्ट गर्नुभयो।