• १३ असोज २०८१, आइतबार

हिमाली लेखक सम्मेलन नेपालमा हुने

blog

सांकेतिक तस्बिर

काठमाडौँ, पुस ३ गते । ‘न्युयोर्क राइटर्स वर्कसप’ले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । वि.सं.२०८१ जेठ ९-२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् । 

कवि, अनुवादक तथा लेखक युयुत्सु आरडी शर्माको लेखन सहजीकरणमा हुने ‘हिमालयन राइटर्स रिट्रिट’ मा  प्रख्यात अमेरिकी कवि तथा सम्पादक टोनी बार्नस्टोन, एसियाली-अमेरिकी कवि तथा संस्मरण लेखक रविशङ्कर, न्युयोर्क विश्वविद्यालयका प्राध्यापक तथा लेखक टिम टोम्लिन्सनलगायतको सहभागिता रहने जनाइएको छ । 

सम्मेलन नेपालका क्रान्तिकारी राजनीतिज्ञ तथा प्रथम गद्यकवि गोपालप्रसाद रिमालमा समर्पित भई अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवका रूपमा चलेर नेपाल र दक्षिण एसियाली लेखनमा केन्द्रित हुने नेपाल संस्करणको संयोजक ह्वाइट लोटस बुक सप, कुपन्डोल, ललितपुरका प्रतिनिधि सिर्जना भण्डारीले जानकारी दिनुभयो ।

सो अवसरमा रिमालका कविताहरूको सङ्ग्रहको अङ्ग्रेजी अनुवाद पनि प्रकाशन हुने बताइएको छ । “न्युयोर्क राइटर्स वर्कसप २०२४ संसारभरको साहित्यिक जगत्का लागि वरदान हुनेछ”, हिमाली महोत्सव संस्करणका अध्यक्ष शर्माले भन्नुभयो,“यस प्रकारको कार्यक्रम दक्षिण एसियामै पहिलो हुनेछ । यसले बहुसांस्कृतिक साहित्यिक संकथनमा नयाँ आयाम ल्याउने र विश्वभरका सिर्जनात्मक लेखकहरूबिचको सम्बन्धलाई बढवा दिई सिर्जनशीलताको बाढी ल्याउने छ ।”      

राइटर्स वर्कसप अन्तर्राष्ट्रिय लेखन कार्यक्रम हो जुन यसअघि ग्रिसको एथेन्स, इटालीको सर्दिनिया, न्युयोर्क सहर क्षेत्रमा आयोजना भइसकेका छन् र प्रतिष्ठित लेखकहरूले प्रशिक्षण दिने गर्छन् । वर्कसपका निर्देशक तथा न्युयोर्क विश्वविद्यालयका प्रा.टोम्लिन्सनले नेपाल सम्मेलन सहभागीहरूका  लागि नौलो अनुभवयुक्त र निकै वैभवशाली हुने प्रतिक्रिया दिनुभयो ।

अमेरिकी कवि तथा ह्विटियर कलेज, क्यालिफोर्नियाका अङ्ग्रेजी, वातावरण र संस्कृति अध्ययनका प्रा. बार्नस्टोन यसलाई स्वप्नमय परियोजनाका रूपमा लिँदै नेपालमा हुने अद्भुत अन्तर्राष्ट्रिय सम्मेलनको आफूले प्रतीक्षा गरिरहेको बताउनुभयो । रासस