• ७ जेठ २०८१, सोमबार

रुकुमपश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता

blog

फाइल तस्बिर

त्रिवेणी (रुकुम पश्चिम), पुस ३ गते । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुमपश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । 

जिल्लाका छ वटै पालिकाका १३ हजार तीन सय ८३ लाभ ग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका चार हजार सात सय ४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हुन् । 

त्यस्तै सानीभेरी गाउँपालिकामा दुई हजार तीन सय २१, त्रिवेणी गाउँपालिकामा दुई हजार ६८ लाभ ग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफीकोट गाउँपालिका भने लाभ ग्राहीले अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन् । आठबीकोटमा सात हजार लाभ ग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम प्राप्त भएपनि बैङ्कमा खाता सञ्चालन भएका चार हजार सात सय ४२ लाभ ग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरपालिकाभर नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या यकिन भएको छ । बाँकी लाभ ग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने उहाँले जानकारी दिनुभयो । त्यहाँ हालसम्म दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण भइसकेको छ भने तीन हजार छ सय ९० वटा अस्थायी आवास निर्माणको चरण रहेको नगरपालिकाले जनाएको छ । 

चौरजहारी नगरपालिकामा चार हजार एक सय ९३ लाभ ग्राहीको खातामा रकम पठाइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट छ हजार दुई सय ७९ लाभ ग्राहीका लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा आठ हजार तीन सय ८३ लाभ ग्राहीको पहिचान भएको छ । 

अझै वितरण सङ्कलन गर्न केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो । त्यहाँ एक सय १८ अस्थायी आवास निर्माण हुँदा एक हजार पाँच सय ३३ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न दुई हजार तीन सय २१ लाभ ग्राहीले पहिलो किस्ता पाएका छन् । पालिकाभर हालसम्म पाँच हजार चार सय २५ लाभग्राही पहिचान भएका छन् ।

जसमा बाँकी रहेका लाभ ग्राहीले पहिलो किस्ताबापतको रकम पाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल सङ्घ संस्था तथा सरकारको अनुदानमा एक हजार छ सय अस्थायी आवास निर्माण भएका छन् । बाँकी अस्थायी आवास निर्माणको काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।  

त्यस्तै त्रिवेणी गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको सबै रकम अर्थात् दुई हजार ६९ लाभ ग्राहीका लागि आएको रकम  खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका छ सय ७३ लाभग्राहीका लागि रकम माग गरेर पठाइएको छ । विवरण सङ्कलनको काम अझै जारी छ । 

पालिकामा हालसम्म दुई सय २२ अस्थायी आवास निर्माण भएको र दुई सय ६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा आठ सय ६६ लाभ ग्राहीको रकम प्राप्त भएकामा हालसम्म ५९ लाभ ग्राहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ । 

त्यहाँ हालसम्म नौ सयभन्दा बढी लाभ ग्राही पहिचान भएका छन् । बाँफीकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट एक हजार छ सय ९९ लाभग्राहीलाई रकम गएको भएपनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभ ग्राहीले अस्थायी आवास निर्माणको लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्थायी आवास निर्माण गर्न प्राप्त भएको रकम अपुग भएपछि सङ्घीय सरकारलाई एक अर्ब दुई करोड माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । रासस