• २२ असार २०८२, आइतबार

बालविवाह न्यूनीकरणमा समस्या

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, असार २२ गते । बालविवाह न्यूनीकरण गर्न पुरोहित तथा धार्मिक अगुवासँग अन्तर्क्रिया गरिएको छ । खलङ्गास्थित भेरी नगरपालिका–४ मा धार्मिक अगुवासँग गरिएको अन्तर्क्रियामा बाल विवाहविरुद्ध अभिभावक सचेत नभएसम्म यस्तो समस्या आइरहने निष्कर्ष निकालिएको छ । 

धार्मिक अगुवाले बालविवाह रोकथामका लागि नैतिक, व्यावहारिक नेतृत्व दिने प्रतिबद्धता गरेका छन् । बालविवाहका कारण सामाजिक विकृति, विसङ्गति बढ्दै गएकाले बालविवाह रोक्न पुरोहितसहित सरोकारवाला, अभिभावक जिम्मेवार बन्नुपर्ने बताएका छन् । 

धार्मिक अगुवालाई धर्म, आस्था, संस्कारको सकारात्मक प्रयोग गरी धर्म समाज मन्दिरबाट बाल विवाहविरुद्ध चेतना, धार्मिक कार्यक्रममा जनचेतना अभिवृद्धि गर्ने, कम उमेरमा गर्न थालिएको बालविवाह रोकथाम गर्न सरोकारवालासँग समन्वय, कानुनी उमेर नपुगेका बालबालिकालाई सबै तह र तप्काबाट रोक्नुपर्ने प्रतिबद्धता जनाएका छन् । 

भेरी नगरपालिका–३ का मधुसुधन शर्माले बालविवाहका कार्यक्रममा पुरोहित जान छोडेको बताउनुभयो । कानुनले बालविवाहलाई सामाजिक अपराधका रूपमा लिएपछि तोकेको उमेरमा विवाह गराउने गरिएको छ । 

भेरी नगरपालिका–११ का केशवप्रसाद शर्माले बालमैत्री वडा घोषणा गरेका गाउँबस्तीबाटै बालविवाह गरेको बताउनुभयो । अभिभावकको सहमतिमा बालविवाह हुने गरेकाले स्थानीय सरकार, सरोकारवाला निकायले अभिभावकको चेतनाको विकास हुनुपर्ने भनाइ छ । अभिभावकको चेतनाको कमीका कारण बालविवाह गर्नेको दर बढ्दै गएको छ । 

स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सिप, क्षमताको विकासमा लगानी गरी बालबालिकालाई सक्षम बनाउन नीति तथा कार्यक्रमको अनुसार अघि बढ्नुपर्ने समाजसेवी खम्बजङ शाहको भनाइ छ  । गरिब, दलित, जोखिममा परेका बालबालिका बालविवाह गर्ने गरेका छन् । सरकारले सेवा सुविधा अभिभावकको सकारात्मक संस्कार पाएपछि कमी आउने उहाँको भनाइ छ ।