• २० असोज २०८१, आइतबार

पुसे मेलाका अवसरमा स्थानीय बिदा

blog

साँवाको थलङ्स्थित मिक्वाखोला गाउँपालिका कार्यालय । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ऐतिहासिक पुसे मेलाका लागि स्थानीय बिदा दिएको छ । गाउँपालिकाले मेलाकाे अवसरमा आज र बुधबार दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको हो ।

मेरिङ्देन गाउँपालिका-३ खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेको सङ्गमस्थल दोभानमा प्रत्येक वर्ष लाग्दै आएको पुसे मेलाका लागि मिक्वाखोला गाउँपालिकाले पनि स्थानीय बिदा दिएको हो । पूर्वकै एक ऐतिहासिक मेलाका रुपमा स्थापित पुसे मेला सुरु भएको ५० वर्ष पुगेको अवसरमा यसवर्ष पुसे मेला स्वर्ण महोत्सवका रुपमा मनाइएको छ । 

स्वर्ण महोत्सवको रुपमा मनाउन लागिएको पुसे मेलाका लागि दुई दिन स्थानीय सार्वजनिक बिदा दिने कार्यपालिकाले निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश बरालले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ । बिदाका पालिकाभित्रका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवम् सङ्घ संस्थाहरु बन्द हुने सूचनामा उल्लेख छ।

पुसे मेला पुस १ गते आइतबार सुरु भई ५ गते बिहीबार सम्पन्न हुनेछ । मेलामा भलिबल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, मेलास्थल दोभानदेखि मिक्वाखोला गाउँपालिका–४ साँवास्थित पर्यटकीय गन्तव्य फुङ्फुगे झरनासम्म साइकल दौड (साइकलिङ) प्रतियोगिता सञ्चालन हुँदैछ । 

यस्तै, तमोर नदीमा -याफ्टिङ, मेलामा मनोरञ्जन दिलाउन साङ्गीतिक लगायतका कार्यक्रम सञ्चालन हुने पुसेमेला आयोजक समितिले जनाएको छ । मेरिङ्देन गाउँपालिकाले पनि मङ्गलबार र बुधबार दुई दिन स्थानीय बिदा दिएको छ ।