• २७ पुस २०८१, शनिबार

अर्थतन्त्र सुधारोन्मुख : मन्त्री महत

blog

अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुहुँदै मकवानपुर उद्योग वाणिज्य सङघका अध्यक्ष कृष्णकुमार गुप्ता । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, पुस ३ गते ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनुभएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घले मङ्गलबार हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री महतले सरकारले लिएको सुधारको नीतिका कारण अर्थतन्त्र पछिल्लो समय सुधारोन्मुख अवस्था रहेको बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव विस्तारै हटेको, तर सबै हटेको अवस्था भने  नरहेको बताउनुभयो ।

वित्त व्यवस्थापनमा देखिएको समस्या, मौद्रिक नीति, आन्तरिक तथा बाह्य कारणले अहिले समस्या आएको भन्दै उहाँले जग्गा र शेयरमा बढी लगानी भएका कारण अहिलेको समस्या आएको जानकारी दिनुभयो । उहाँले लगानीका नयाँ क्षेत्रको खोजी हुनुपर्ने भन्दै सरकारको मात्र प्रयासमा समस्या समाधान नहुने भएकाले निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य कृष्ण कटुवालले बढ्दो व्याजदर घटाउनुपर्ने बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले एक अङ्कको मात्र व्याजदर हुने नीति आवश्यक भएको बताउनुभयो । अर्थमन्त्री महतलाई ज्ञापनपत्र बुझाउँदै उहाँले विद्युत महशुलमा रहेको डिमाण्ड शुल्क हटाउन माग गर्नुभयो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाटलगायतले सरकारले उद्योगी व्यवसायीलाई लगानीको वातावरण निर्माण गर्न माग गर्नुभयो ।