• ५ जेठ २०८३, मङ्गलबार

सीमामा कडाइले माछा व्यवसायी उत्साहित

blog

नवलपुर, जेठ ५ गते । सरकारले भारतसँगको सीमानाकामा गरेको कडाइले नवलपुरका माछा व्यवसाय उत्साहित छन् । भारतबाट सस्तो मूल्यमा आउने माछाले नेपाली बजार प्रभावित हुने गरेकामा वर्तमान सरकारले भारतबाट आयात हुने माछा तथा अन्य कृषिजन्य सामग्रीमा कडाइ गरेपछि नेपाली व्यवसायलाई राहत मिलेको हो । 

भारतबाट माछा आउन कडाइ गरेपछि नेपाली माछाले मूल्य राम्रो पाएको र उपभोक्ताले स्वस्थकर माछा खान पनि पाएको कावासोती–१५, गुडारका माछापालक किसान नीरञ्जन पाण्डेले बताउनुभयो । उहाँले कावासोतीमा चार बिघा र देवचुलीमा सामूहिक रूपमा १२ बिघा क्षेत्रफलमा माछापालन गरिरहनुभएको छ ।

“गत वर्ष यही समयमा होलसेलमा प्रतिकिलो २८० रुपियाँ मूल्य थियो, यस वर्ष सरकारले सीमानाकामा कडाइ गरेकाले भारतीय माछा आउन पाएको छैन, जसले गर्दा नेपाली किसानले उत्पादन गरेको माछाले राम्रो भाउ पाएको छ,” पाण्डेले भन्नुभयो, “अहिले हामी होलसेल प्रतिकिलो ३३० रुपियाँमा बेचिरहेका छौँ ।” 

देवचुलीमा माछापालनसमेत गरिरहेका नवलपुर मत्स्य व्यवसाय सङ्घका अध्यक्ष इन्द्रमणि भुसालले पनि सरकारले भारतीय सीमानाकामा गरेको कडाइले जिल्लाभरिका किसानलाई राहत मिलेको बताउनुभयो । “आयातित माछामा गरिएको कडाइले व्यवसायलाई सफलता मिलेको छ, जसले गर्दा जिल्लाभरिका माछा व्यवसाय किसान उत्साहित हुनुभएको छ,” भुसालले भन्नुभयो ।

नयाँ सरकारले हरेक कृषि वस्तु आयातमा कडाइ गर्दै स्वदेशी उत्पादनलाई बढावा तथा क्सारेटिनलाई प्रभावकारी बनाएका कारण माछाको नेपाली बजार राम्रो भएको भुसालको भनाइ छ । 

केही व्यापारीले भारतबाट मरेको माछालाई प्याक गरेर ल्याउने र फर्मालिन केमिकल हालिएको हुनाले स्वास्थ्यका लागि असर गर्ने भएकाले भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र, नवलपुरले नेपाली माछा मात्र उपभोग गर्न आग्रह गरेको छ ।

माछापालनका लागि नवलपर गण्डकीकै उत्कृष्ण जिल्ला पर्छ । मत्स्यपालन र पोखरी सबैभन्दा बढी भएको जिल्ला पनि नवलपुर नै हो । यहाँ १८४ रोपनी जलाशय क्षेत्रमा एक हजार ५७४ वटा माछापोखरी रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नवलपुर माछामा आत्मनिर्भर उन्मुख देखिएको छ । 

केन्द्रका कार्यालयका प्रमुख डा. शर्मिला कुमालका अनुसार प्रतिव्यक्ति वार्षिक १४ किलो माछा आवश्यक पर्नेमा हाल झन्डै १३ किलो उत्पादन हुने गरेको छ । उपलब्धता र आवश्यकताका हिसाबले माछामा झन्डै एक किलो अपुग रहेको डा. कुमालले बताउनुभयो । हरेक वर्ष माछाको उत्पादन बढिरहेकाले आत्मनिर्भर हुन धेरै समय नलाग्ने उहाँको भनाइ छ । 

माछापालक किसानले बजार व्यवस्थापन, जीवित माछा ढुवानी, सहुलियतपूर्ण ऋण र व्यावसायिक सिप विकासमा जोड दिन सरकारसँग आग्रह गरेका छन् । कावासोती–१३ का माछापालक किसान भूपराज श्रेष्ठले राज्यले यी समस्या समधान गर्ने हो भने नेपाल माछामा आत्मनिर्भर हुन र कृषकलाई कमाइ गर्न समस्या नहुने बताउनुभयो ।   

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।