• २३ वैशाख २०८२, मङ्गलबार

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक अलपत्र

blog

फाइल तस्बिर

लमजुङ, पुस २ गते । पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पुर्‍य ाउने अभियान अन्तर्गत अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो । 

पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलका अनुसार ठेकेदारले आर्थिक पाटोलगायत कारण देखाउँदै काम अलपत्र बनाउँदै आएको छ । गत असारपछि सडक निर्माणको काम ठप्प हुँदै आएको छ । ठेकेदारले रोकिएको कामलाई केही दिनमा निरन्तरता दिने बताएको उहाँको भनाइ छ । निमित्त प्रमुख सिग्देल भन्नुहुन्छ, “निर्धारित समयमा काम पनि हुनसकेन अहिले सडक निर्माण सम्झौताको म्याद सकिएर थप गर्ने प्रक्रियामा छ ।” सडक अलपत्र रहँदा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा स्थानीयवासीलाई समस्या हुने गरेको छ । 

हिउँदामा घर अगाडि धुलो आएर घर तथा मान्छे पनि नचिनिने हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी ईश्वरराज सेडाइँ भन्नुहुन्छ, “सडक बनेको ठाउँ पनि भत्किन थालेको छ, सडकमा बिछ्याएको ढुङ्गा सवारी साधन गुडाउँदा उछिटिन्छ र दुर्घटना हुने जोखिम हुन्छ ।” जिल्लाको सदरमुकाम बेँसीसहर जान होस् वा पालिका केन्द्र पुग्नलाई सडकका कारण सास्ती हुनेगरे पनि सम्बन्धित निकायाको ध्यान पुग्न सकेको देखिँदैन । 

गाउँपालिका अध्यक्ष युवराज अधिकारी नागरिकको दैनिक यात्रा सहज बनाउनका लागि जतिसक्दो चाँडो सडकको कामलाई निरन्तरता दिँदै सम्पन्न गर्न आफूले पहल गर्दै आएको बताउनुुहन्छ । निर्माण कार्य ठप्प हुँदा झन् बढी स्थानीयवासीलाई समस्या उत्पन्न भइरहेकाले आफैँले सम्बन्धित निकायलाई ताकेता गर्दै आएको उहाँको भनाइ छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार ६० प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न यस उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर राजेश अधिकारीका अनुसार अझै ४० प्रतिशत भौतिक प्रगति हुन बाँकी छ । यस सडकको साढे तीन किलोमिटरको स्टक्चरको काम सम्पन्न भइसकेकोे छ । अन्य भागमा भने स्टक्चरलगायत काम बाँकी छ ।  

त्यस्तै, ग्याबेल, ग्याबिन बाल, मेसिन वालको काम गर्न बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने पाँच किलोमिटर नाला निर्माण गरिएको छ । सम्झौताअनुसार वि.सं.२०७९ असार २ गतेभित्र कालोपत्रे गरिसक्नुपर्ने भए पनि याे सडक कोरोनाका कारण काम सुरु गर्न ढिलाइ भएको देखाएर निर्माण कम्पनीले गत पुस महिनासम्ममा निर्माणका लागि थप म्याद पाएको थियो । 

तर सो समयभित्र पनि निर्माण नभएपछि पुनः म्याद थप गर्दै वि.सं.२०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुनः थप म्याद मङ्सिर २८ गतेसम्म रहेकामा सो म्याद पनि यतिबेला सकिएको छ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले गर्दै आएको यस सडकका लागि वि.सं.२०७७ असार ३ गते ठेक्का सम्झौता भएको थियो ।

प्रदेश सरकारको २६ करोड २९ लाख छ हजार दुई सय २५ को लागतमा सात दशमलव एक सय २१ किलोमिटर सडक कालोपत्र हुन लागेको छ । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका-१ उदिपुरदेखि दोर्दी गाउँपालिका-४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ । यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । दोर्दी गाउँपालिका केन्द्र जोड्ने यस सडकको अधिकांश भाग भने बेँसीसहर नगरपालिकाभित्र पर्दछ । रासस