• ५ जेठ २०८३, मङ्गलबार

‘एआई’ प्रविधिबाट भानु नगरपालिकामा छाती रोग परीक्षण सुरु

blog

भानु नगरपालिकाको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ ५ गते ।
तनहुँको भानु नगरपालिका ले आधुनिक प्रविधिमार्फत नगरवासीको स्वास्थ्य परीक्षण गर्ने भएको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भित्रिएको नयाँ प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी छातीसम्बन्धी रोगको खोजपड्ताल अभियान सुरु गरेको हो ।

यही जेठ ७ गते भानु नगरपालिका–३ स्थित भानु स्वास्थ्य चौकीमा एआई एक्सरे मेसिनसहित विशेष स्वास्थ्य शिविर आयोजना गरी सेवा सुरु गर्न लागिएको हो । विशेषगरी क्षयरोग (टिबी) तथा छातीसम्बन्धी अन्य जटिल रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले परम्परागत प्रविधिभन्दा एआई प्रविधि बढी प्रभावकारी र भरपर्दो भएकाले नगरवासीको हितका लागि यो प्रविधि भित्राइएको बताउनुभयो । उहाँले आधुनिक डिजिटल युगमा स्वास्थ्य क्षेत्रमा प्रविधिको उच्चतम प्रयोग आवश्यक भइसकेकाले ‘एआई एक्सरे’ प्रविधिमार्फत छातीका रोगीको खोजपड्ताल गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविर विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका तथा उच्च जोखिममा रहेका नागरिकलाई लक्षित गरिएको छ । नगरपालिकाले जारी गरेको सूचनाअनुसार विगतमा क्षयरोग लागेका बिरामी, हाल उपचाररत बिरामीका परिवारका सदस्य, इँट्टाभट्टालगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मजदुरलाई शिविरमा प्राथमिकता दिइनेछ ।

त्यस्तै अत्यधिक धूम्रपान तथा मद्यपान गर्ने व्यक्ति, दीर्घरोगी (दम, मधुमेह, उच्च रक्तचाप, एचआईभी/एड्स) लगायत लामो समयदेखि खोकी लाग्ने समस्या भएका नागरिकलाई स्वास्थ्य चौकीमा आएर निःशुल्क सेवा लिन अनुरोध गरिएको छ ।

शिविरमा प्रयोग गरिने एक्सरे प्रविधिले गर्भमा रहेको शिशुमा नकारात्मक असर पार्न सक्ने भएकाले गर्भवती महिलालाई भने शिविरमा सहभागी नहुन नगरपालिकाले विशेष आग्रह गरेको छ ।