• ९ मंसिर २०८१, आइतबार

अन्तरसीमा वायु प्रदूषण

blog

यस वर्षको दसैँमा परिवारजनसँग रमाउँदै निलो आकाशमुनि चङ्गा उडाउँदै गर्दा पृष्ठभूमिमा टल्किरहेका सेता हिमालले वातावरण अझ मनमोहक बनाएको थियो । सफा वातावरणमा बालबालिकाहरू पिङमा चचहुई गरिरहँदा काठमाडौँ सधैँ यतिकै सफा भइदिए कस्तो हुन्थ्यो होला भनेर मनले गुनिरह्यो । दसैँ मनसुन सकिएपछिको समयमा पर्छ । यो बेला वर्षभरिकै सबभन्दा धेरै दिन सार्वजनिक बिदा हुन्छ । फेरि दसैँ मनाउन धेरै मानिस आफ्नो थातथलो जान्छन् । त्यसैलै सवारीसाधन न्यून मात्रामा गुड्छ ।‌ औद्योगिक कार्य पनि प्रायः ठप्प हुन्छ । अनि काठमाडौँको वायु यो बेला सफा रहन्छ । दसैँ सकिएलगत्तै भने काठमाडौँमा चहलपहल बढ्न थाल्छ र वायुमा प्रदूषण पनि बढ्छ । 

काठमाडौँको सडकमा गुड्ने गाडीहरू, खुला फोहोर जलाउँदा, इँटाभट्टाबाट निस्कने धुँवा आदि वायु प्रदूषणका मूख्य स्रोत हुन भन्ने विभिन्न अध्ययनले देखाएको छ । दसैँ सकिएलगत्तै काठमाडौँलाई प्रदूषणको चपेटा पर्ने अन्य कारण पनि छन् । यस वर्ष पनि दसैँको १२/१५ दिनपछि तिहारको मुखमा काठमाडौँको वातावरण धूमिल भयो ।

कात्तिक मङ्सिरबाट पानी कम पर्न थाल्छ । घरघरमा बालीनाली भित्रिसकेको हुन्छ । नयाँ बाली लगाउन खेत तयार पार्नु पर्ने हुन्छ । देशको विभिन्न भागमा बालीका अवशेष जलाउन सुरु गरिन्छ । त्यसबाट निस्कने धुँवा देशभर फैलिन्छ । सोही समयमा भारतको पञ्जाव हरियाणामा जलाइने बालीको अवशेषबाट निस्कने प्रदूषण भारतमा पनि ठुलै समस्याको रूपमा रहेको छ । नोभेम्बर महिनामा केही दिनअघिदेखि भारतको दिल्लीमा वायु प्रदूषण निकै अस्वस्थ्यकर अवस्थामा पुगेको विभिन्न सञ्चार माध्यमले जनाएका थिए । नोभेम्बर ३, २०२३ मा दिल्लीले अत्याधिक प्रदूषणको चापको कारण विद्यालय बन्दको घोषणा गरेको थियो । अत्यावश्यकबाहेक अन्य निर्माण कार्यमा रोक लगाएको थियो । दिल्लीमा भएको प्रदूषणमा ४६ प्रतिशत हिस्सा बालीको अवशेष जलाएको कारणबाट भएको सञ्चार माध्यमले जनाएका थिए ।

दिल्लीमा प्रदूषणको मात्रा चुलिँदै गर्दा काठमाडौँमा पनि यसको प्रभाव देखियो । हिमाल ढपक्कै ढाकिएको थियो । वातावरण धूमिल हुँदै गएको थियो । त्रिभुवन विश्व विद्यालयले जडान गरेको छाउनीस्थित वायु प्रदूषण मापन उपकरण तथा वातावरण विभागको पुल्चोकस्थित वायु प्रदूषण मापन यन्त्रको तथ्याङ्क अध्ययन गर्दा पनि नोभेम्बरको सुरुवाती दिनको तुलनामा नोभेम्बर ५ पछि ५० प्रतिशत पिएम (२.५) वृद्धि भएको देखिएको थियो । सो अवधिमा नेपालको विभिन्न भागको विगत पाँच दिनको वायुको दिशा अध्ययन गर्दा तराईमा पश्चिमबाट दिल्ली हुँदै वायुको आगमन भएको देखिएको थियो । लुम्बनी र बुटवलमा पिएम (२.५) प्रदूषण चुलिएको थियो । दक्षिणबाट बहेको हावा बुटवल हुँदै काठमाडौँमा भित्रिएको देखिएको थियो । यसबाट काठमाडौँको वायुमा हरियाणा र पञ्जाबको प्रदूषण मिसिएको तथ्य नकार्न सकिँदैन । सन् २०२० मा सुजन खनालले गरेको अध्ययनमा पनि उत्तर पश्चिम भारतमा बालीको अवशेष जलाएको कारण उत्पन्न प्रदूषणले नोभेम्बर ४ देखि ७ सम्म काठमाडौँ निकै प्रभावित भएको देखिएको थियो तर भाग्यवश यस वर्ष भने काठमाडौँमा बहने वायु र त्यतिबेलाको सुगम मौसमले काठमाडौँवासीलाई राहत दियो र दिल्लीको जस्तो विकराल अवस्था भोग्नु परेन ।

अहिलेको प्रदूषण भने मौसमको कारणले पनि हुन्छ भन्ने उदाहरणका रूपमा लिन सकिन्छ । हिउँद महिनाको आगमनसँगै काठमाडौँको तापक्रम घट्दै जान्छ । हावाको बेग पनि कम हुँदै जान्छ । जाडो याममा जमिनको सतह नजिकको हावा छिटो चिसिन्छ र तापक्रम घट्दै जाँदा वायुको ठाडो तटीय परिसंचरण हुन पाउँदैन । अङ्ग्रेजी भाषामा यसलाई ‘टेम्परेचर इन्भर्जन’ भनिन्छ । कचौरा आकारको संरचना भएको कारणले गर्दा काठमाडौँमा सतह नजिकको प्रदूषण त्यहीँ थिग्रिन्छ । घाम नलाग्दा कैयौँ दिनसम्म वातावरण धूमिल रहन्छ । त्यसैले जाडो याममा प्रदूषणको स्रोत यथावत् रहँदा पनि वातावरण बढी प्रदूषित रहन्छ भने प्रदूषणको स्रोत थपिने हो भने अवस्था विकराल बन्दै जान्छ । यस्तो बेला मानिस चिसोबाट जोगिन आगो बाल्छन् । आगो बाल्दा निस्कने धुवाँले अवस्था झन् विकराल बन्छ ।

प्रदूषणको कारक तत्व विभिन्न छन् तर यसलाई बढावा दिने काम चाहिँ हाम्रो लापरबाही, लालच, अज्ञानता र भौतिकवादी सोचले गरेको छ । काठमाडौँमा सवारीसाधन प्रदूषणको प्रमूख स्रोत मानिन्छ । नेपाल सरकारले समय समयमा सवारी छड्के जाँच पनि गर्ने गरेको छ । त्यस जाँचपासमा करिब ३४ प्रतिशत सवारी अनुत्तीर्ण हुने गरेको छ । त्यही सवारीसाधन सर्भिसिङ गराएर गुडाउँदा त्यसबाट उत्सर्जन हुने पिएम करिब ६६ प्रतिशतले कम हुन्छ । टोल सफा राख्न मेरो घर छेउको दाइले वरिपरिको फोहोर जम्मा गरेर जलाउनु हुन्छ । उहाँलाई थहा नै छैन, उहाँले सोचेको राम्रो कामले हामी सबैको फोक्सो फोहोर भइरहेको छ । म बस्ने ठाउँ मूल सडकमा पर्दैन र घरहरू बिस्तारै बन्दैछन् । छिमेकीले घर बनाउन बालुवाको थुप्रो बाटोमा थुपारेको छ । अब हावा उड्दा त्यो बालुवाको कण पनि हावामा मिसिन्छ । हामीले आफ्नो स्वार्थले अरूलाई कति असर परिरहेको छ हेर्न बिर्सन्छौँ । हामी यस्ता ससाना कुरामा मात्र सजग भयौँ भने पनि सहरभित्र उत्सर्जन हुने वायु प्रदूषण कम गर्न अहम् भूमिका निर्वाह गर्न सक्छौँ ।

वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा श्वासप्रश्वास, मधुमेहदेखि मुटुरोगसम्म हुने विभिन्न अध्ययनले देखाएको छ । भ्रुणलाई समेत यसले असर गर्ने साबित भएको छ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण न्युनीकरणका लागि नेपाल सरकारले वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ लागु गरिसकेको छ । यस कार्ययोजनामा व्यवस्था भएका सर्त मात्र पूरा गर्ने हो भने पनि काठमाडौँको प्रदूषण निकै हदसम्म नियन्त्रित हुने देखिन्छ तर सीमा पारबाट आएको प्रदूषण न्यूनीकरणका लागि भने प्रदूषण कताबाट आएको हो त्यसको शोध गर्नु पर्छ र न्यूनीकरणका लागि अन्तरदेशीय छलफल हुनु पर्छ । 

  

Author

हसना श्रेष्ठ