अमरराज नहर्की
तनहुँ, मङ्सिर २९ गते । बसाइँसराइँले तनहुँका गाउँ रित्तिन थालेका छन् । रोजगारीका लागि जिल्लाबाट दैनिक एक सय युवा विदेश जाने गरेका छन् । महिला र पुरुष दुवै विदेशिने क्रम बढेसँगै अधिकांश गाउँ युवाविहीन भएका छन् । बुढाबुढी, केटाकेटी मात्र गाउँमा देखिन्छन् । त्यसो त भौतिक सुख, सुविधा खोज्दै बेंसी र सहर झरेपछि गाउँमा रहेका कतिपय घर रित्ता छन् ।
जिल्ला प्रशासन कार्यालयमा दैनिक राहदानी बनाउन फारम भर्ने युवाको भीड थामी नसक्नुको हुन्छ । दैनिक ७५ देखि एक सय जना राहदानी बनाउन आउने र अधिकांश १८ देखि ४० वर्षसम्मका युवाहरु रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
योग्यता अनुसारको जागिर नपाउँदा र घरमै व्यवसाय सञ्चालनको जोखिम लिन नसक्दा युवा विदेशिने क्रम बढेको हो । घरको सम्पत्ति बेचेर र ऋण गरेर विदेश जाने युवाहरु धेरै छन् । स्वदेशमा जागिर पाउन मुस्किल हुने र पाए पनि लाउन खान पुग्ने पारिश्रामिक नहुने भएको राहदानी बनाउन आएको म्याग्दे गाउँपालिका–५ सलिना गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘‘पढेर जागिर पाउन मुस्किल छ । बरु कोरिया गएर पैसा कमाउने इच्छा भएकोले राहदानी बनाउन आएको हुँ ।’’
पछिल्लो समय तनहुँमा कामको खोजीमा विदेशिनेमा पुरुषसँगै महिला पनि बढेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत ऋषिराम सुवेदीले जानकारी दिनुभयो । ९० प्रतिशत महिला विदेश जानुपर्छ भन्ने भावना भएकोले विदेशिने बढेको सुवेदीले बताउनुभयो । विदेशमा रहेका आफ्नो परिवार, आफन्त तथा साथीले बोलाउने गरेकाले स्वदेशमा बस्न नचाएको सुवेदी बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर इच्छा तामाङका अनुसार गत आर्थिक वर्षमा पाँच हजार सात सय ९८ जना महिलाले राहदानी बनाएका छन् । सोही अवधिमा छ हजार पाँच सय ९७ जना पुरुषले राहदानी बनाएका छन् । चालु आर्थिक वर्षमा कात्तिक सम्ममा दुई हजार ८२१ जना महिलाले राहदानी बनाएको तामाङले जानकारी दिनुभयो । सोही अवधिमा दुई हजार ८२१ जना पुरुषले राहदानी बनाएका छन् । चालु आर्थिक वर्षको साउन महिनामा ६६२, भदौ महिनामा ६८८ जना, असोजमा ५७४, कात्तिकमा ५३६ जना महिलाले राहदानी बनाएका छन् । सोही अवधिमा साउनमा ७८०, भदौमा ८३०, असोजमा ६०१ र कात्तिकमा ६१० जना पुरुषले राहदानी बनाएका छन् । असोज र कात्तिकमा दसैं र तिहार परेकाले सङ्ख्या कम भएको तामाङले जानकारी दिनुभयो ।
प्रशासन कार्यालय भित्रै वैदेशिक रोजगारीको क्रममा नठगिउन् तथा सुरक्षित रहने उपायबारे जानकारी दिने भन्ने मुख्य उद्देश्यले परामर्शको व्यवस्था गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, सुरक्षित वैदेशिक रोजगारीको लागि आप्रवासी स्रोत केन्द्रले कार्यालयमै परामर्श दिँदै आएको हो । अधिकांश विदेश गएर धन कमाउनका लागि राहदानी बनाउन आएको बताउनुभएको सामी कार्यक्रमको परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो ।
आफ्नो देशमा रोजगार पाउन मुस्किल हुने जागिर पाए पनि लाउन र खान नपुग्ने भएकोले विदेश जानका लागि राहदानी बनाउन आएको व्यास नगरपालिका–१ भादगाउँ निवासी मेनुका दुलाल उपरकोटीले बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिका–१० कि छलिमाया बिकले कृषि पेशाबाट जीवन धान्न कठिन भएकोले बाध्य भएर वैदेशिक रोजगारीको लागि राहदानी बनाउन आएको बताउनुभयो ।युवाहरु सबै विदेशमा गएकोले गाउँ सुनसान भएको व्यास नगरपालिका–६, साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले बताउनुभयो । पहिला तीन सय घर रहेको गाउँमा अहिले ६५ घर मात्रै रहेको उहाँको भनाइ छ ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा बढीजसो सहरी क्षेत्रमा बसाइँसराइँ गर्ने गरेको गुरुङ बताउनुहुन्छ । व्यक्तिको आर्थिक हैसियतअनुसार बसाइँसराइको प्रवृत्ति निर्धारण हुने गरेको प्रधानाध्यापक गुरुङकाे बुझाइ छ ।