• ४ जेठ २०८१, शुक्रबार

मेलम्चीको पानी सपना

blog

खानेपानीको चरम अभाव भोगिरहेका काठमाडौँ उपत्यकावासीका लागि ठुलो लगानी गरेर निर्माण गरिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी नियमित रूपमा वितरण हुन नसक्दा समस्या उस्तै छ । पिउने पानीको उपत्यकामा चरम अभाव छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलालाई अम्बाथानमा बाँध बाँधेर २७.५ किलोमिटर लामो सुरुङमार्फत सुन्दरीजलमा ल्याइएको पानी बर्खायाममा बन्द गरेर हिउँदमा मात्र वितरण गरिँदै आएको भए पनि यस पटक यतिबेलासम्म सुरुङमा पानी पथान्तरणको कुनै सुरसार छैन । प्राविधिक समस्याभन्दा पनि सम्बन्धित निकायको व्यवस्थापकीय कमजोरीका कारण यस वर्ष पानी वितरणमा ढिलाइ भएको देखिएको छ । ठेकेदार कम्पनी सिनो हाइड्रो र सम्बन्धित सरकारी निकायबिच समन्वयको अभाव रहँदा बाढीपहिरोका कारण उत्पन्न समस्या समाधानतर्फ कुनै पहल हुन नसकेको देखिन आउँछ । 

विसं २०४७ को राजनीतिक परिवर्तनपछिको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँवासीलाई मेलम्चीको पानी ल्याएर खुवाउने वाचा गरेअनुरूप लामो समयको माथापच्चीपछि निर्माण योजनाले मूर्त रूप पाएको जगजाहेर छ । काम सुरु भएपछि पनि उत्पन्न अनेक बाधा अड्चन पार गर्दै दुई दशकपछि मात्र आयोजनाले साकार रूप लिएको हो । एसियाली विकास बैङ्क (एडिबी) को लगानी रहेको आयोजनाको निर्माणमा सुरुमा चाइना कन्स्ट्रक्सन कम्पनी र उसले काम नगरेपछि इटालीको सिएमसी कम्पनीले काम गरेर बिचमै छोडेर भागेपछि बाँकी काम पूरा गर्ने गरी विसं २०७६ मा चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का सकारेर आयोजना पूरा ग¥यो । २०७७ फागुन २२ गते सुन्दरीजलमा खसालिएको पानी चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धारा खोलेर उद्घाटन गर्नुभएको थियो । ३० अर्ब रुपियाँभन्दा बढी लगानी भएको आयोजनालाई २०७८ सालमा आएको भीषण बाढीले ठुलो क्षति पु¥याएका कारण उत्पन्न अवरोधलाई अझै पनि पूर्ण रूपमा हटाउन नसकिएको वा हटाउन नचाहेको उपभोक्तालाई बुझ्न कठिन भएको छ । गत वर्ष चुनावका मुखमै उपत्यकामा औलादौला पानी आएको स्मरण गर्नेलाई अहिले पुस लाग्न लाग्दा पनि मेचम्चीको मुहान उपत्यकातिर नतेर्सिनु अचम्मै भएको छ । जनसाधारणको जीवनसित प्रत्यक्ष जोडिने पानी आपूर्ति नहुँदा सरकारका सुशासन प्रतिबद्धतामा समेत गम्भीर प्रश्न उठ्ने कुरालाई सम्बद्ध निकायले गम्भीर रूपमा लिनै पर्छ ।

 उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको देखिए पनि आपूर्ति भने बर्खामा बढीमा १२ करोड लिटर र हिउँदमा बढीमा आठ करोड लिटर मात्र हुँदै आएपछि उपत्यका काकाकुल भएको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुने भएपछि राहत पुग्ने आशा उपत्यकाबासीको थियो, गत वर्ष सडकै भत्काउने गरी उपत्यकामा पानी आएकै हो । बाढीले बिज्याइ गरेपछि पनि पानी कसरी वितरण भयो र अहिले किन व्यवस्थापकीय कमजोरी ? उपत्यकाबासीले यो प्रश्न निरन्तर उठाउनु अन्यथा होइन । बाढीको सकसले बर्खायाममा यसै पनि आयोजना बन्द गरिँदै आएको उपभोक्ताले पत्याए तर बर्खा सकिएको महिनौँ बित्दा पनि किन पानी वितरण हुन सकेको छैन ? खानेपानीमन्त्री महिन्द्र राय यादव स्थलगत भ्रमणमा गएपछि उपभोक्ता केही दिनलाई संयम भएको बुझ्न कठिन हुँदैन ।

बाढीपहिरोले सुरुङ तथा हेडवक्र्समा क्षति पुग्न सक्ने त्रासमा कारण गत जेठमा सुरुङमा पानी पथान्तरण कार्य बन्द गरिएको स्वाभाविक जस्तै थियो । यस पटकको बाढीले ठुलो क्षति नपु¥याएको भए पनि सुरुङको मुहानमा ठुलो मात्रामा गेग्य्रान थुप्रिएर पुगेको अवरोध निर्माण सम्झौता अनुसार सिनो हाइड्रोले नै हटाउनुपर्नेमा करिब पाँच करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको अत्तो थापेर पानी जस्तो संवेदनशील प्राणजलमा कुतर्क गर्न मिल्छ ? विधि, नियम, कानुन त हुनै पर्ने हो । समस्या सिनो हाइड्रोतिर देखाएर मन्त्रालय एवं मेलम्ची खानेपानी विकास समिति ओभानो बस्न सक्दैन । त्यसैले हुनु पर्छ, खानेपानीमन्त्री यादवसहितको टोलीले गत मङ्सिर १५ गते आयोजनाको मुहानस्थलको अवलोकन गरेर फर्किनुभएको छ तर अब धारामा पानी आएपछि मात्र उपभोक्ताको विश्वास जित्न सकिन्छ । राज्यको ठुलो लगानी रहेको राष्ट्रिय गौरवको खानेपानी आयोजनाले नियमित रूपमा प्रतिफल दिन नसक्नुको पछाडि निर्माण स्थलको भौगोलिक अवस्थितिको उचित परीक्षण हुन नसकेको भन्ने क्यानेडिया कम्पनीले सर्वेक्षण गरेर दिएको प्रतिवेदनसमेत मननीय छ । जे जसरी हुन्छ, तत्काल पानी आपूर्ति नै अहिलेको समाधान हो । पानीको सपना लामो समय रहनु हुन्न ।