• १३ असोज २०८१, आइतबार

‘संस्कृति शक्तिशाली कूटनीति’

blog

काठमाडौँ, मङ्सिर २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संस्कृति शक्तिशाली कूटनीति भएको बताउनुभएको छ । विदेशी पर्यटकलाई लक्षित गर्दै सांस्कृतिक संस्थानले सुरु गर्न लागेको साप्ताहिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को घोषणा तथा पत्रकार सम्मेलनमा बुधबार बोल्दै मन्त्री किरातीले भन्नुभयो, “भाषा र संस्कृतिलाई कुनै पनि मुलुकको सिमानाले रोक्न सक्दैन । संस्कृति भनेको शक्तिशाली कूटनीति हो ।”

सांस्कृतिक संस्थानले सांस्कृतिक पर्यटनको विकासमा टेवा पुर्‍याउन, नेपालको प्रस्तुतिजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन, देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारलाई चलायमान बनाउन तथा लोकसंस्कृतिका लागि पुँजी निर्माणतर्फ अग्रसर गराउने उद्देश्यले विभिन्न कार्यव्रmम सुरु गरेको छ । सो कार्यक्रममा मन्त्री किरातीले लोकसंस्कृति र रैथाने खानालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक रहेको तर्क गर्दै त्यसका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले सरकारी र निजी क्षेत्रको सहकार्य र समन्वयमा हुने कार्यक्रमका प्रस्तुति मनोरञ्जनभन्दा बढी प्राज्ञिक, खोजमूलक र यथार्थपरक हुने, नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुति समावेश गरिने जानकारी दिनुभयो । 

महाप्रबन्धक राईका अनुसार विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषयविज्ञको परामर्श, मूल्याङ्कन तथा सुझाव लिन प्रस्तुति छनोट तथा परामर्श समिति गठन गरिएको हो । कार्यव्रmममा समावेश गरिने सबै प्रस्तुतिलाई दस्ताबेजीकरण गर्दै भविष्यमा डिजिटल लाइब्रेरी तयार गर्ने योजनासमेत रहेको छ । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले कार्यक्रमलाई सफल बनाउन र निरन्तरता दिन बोर्डको सधैँ साथ र सहयोग रहने बताउनुभयो । कार्यक्रममा लोकसांस्कृतिक प्रस्तुतिसहित गौतम बुद्ध, अरनिको, भृकुटी (हरिततारा), सीतालगायत नेपालका विभूति एवं अग्रज साधकलाई विश्वमाझ चिनाउन उहाँहरूको जीवनीलाई सङ्क्षिप्त रूपमा नाटकीकरण गरी प्रस्तुत गरिने छ ।