काठमाडौँ, मङ्सिर २८ गते । एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स–२०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट नेपाल आइपुग्नुभएको छ । नेपाल आइपुग्नुभएको दीपिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँलाई सचेतनाका निर्देशक सरोज ओझाले नेपालमा स्वागत गर्नुभयो । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै नेपालको नाम विश्वसामु चर्चामा ल्याउन सफल भएकोमा धन्यवाद दिनुभयो ।
सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महसुस भएको दीपिकाले बताउनुभयो । उहाँले प्लस साइज मोडलका रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले पाएको चर्चा र नेपाली मिडियाले दिएको स्थानको सम्मान गर्न चाहेको उल्लेखसमेत गर्नुभयो ।
मिस युनिभर्स–२०२३ मा सहभागितासँगै दीपिकाले प्लस साइज मोडलका रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुल्नुभएको छ । सिएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलका रूपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार सम्प्रेषण गरेका थिए । २३ वर्षीय दीपिकाले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आउनुभएको छ ।
एसियन पेन्टस् ‘मिस युनिभर्स नेपाल–२०२३’ को विजेता बन्दै उहाँले मिस युनिभर्स–२०२३ मा सहभागिता जनाउनुभएको थियो । मिस युनिभर्स–२०२३ को उपाधि निकारागुआकी सेनिस पालासियोसले जित्नुभएको छ । प्रतियोगितामा थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्र्ट रनरअप र अस्ट्रेलियाकी मोराया विल्सन सेकेन्ड रनरअप हुनुभएको थियो । उहाँलाई हौसला प्रदान गर्न मिस युनिभर्स नेपालका राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ एल सालभाडोर पुग्नुभएको थियो । जेन दीपिकाले नेपालको प्रतिनिधित्व गर्दै नेपालको नाम राखेकामा गर्व लागेको श्रेष्ठ बताउनुहुन्छ । “यस वर्ष शीर्ष २० अर्थात् सेमिफाइनलसम्म पुग्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छौँ र हाम्रो लक्ष्य आगामी वर्षमा नेपालका लागि मिस युनिभर्स जित्नु रहेको छ,” उहाँले भन्नुभयो ।