बाबुराम देवकोटा
सिन्धुलीमाढी, असार ४ गते । सिन्धुली जिल्लामा दुई वटा स्थानीय तहकाे प्रशासकीय भवन धमाधम बन्दैछन् ।
जिल्लाका नौ वटा स्थानीय तहमध्ये गोलन्जोर र घ्याङ्लेख गाउँपालिकाले दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उक्त भवन बनाएका हुन् । यी गाउँपालिकाले भवन निर्माणका लागि सङ्घीय सरकारबाट सहयोग प्राप्त गरेपछि आफ्नाेसमेत लगानी गरी भवन निर्माण कार्य अघि बढाएका हुन् । बाँकी सात वटा पालिकाले आफ्नै नयाँ प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह गरिसकेका छन् ।
भाडाको घरबाट दैनिक प्रशासनिक कार्य सञ्चालन गर्दै आएको गोलन्जोर गाउँपालिकाले कुल छ करोड ११ लाख ११ हजार रुपियाँ (भ्याट बाहेक) लागतमा चार तले ३८ कोठाको उक्त भवन निर्माण भइरहेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले उक्त लागतमध्ये उक्त लागत मध्ये नेपाल सरकार स्थानीय पूर्वाधार कार्यालयको ६० प्रतिशत र बाँकी ४० प्रतिशत गाँउपालिकाले व्यहोर्ने गरी उक्त भवन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भवन निर्माणकार्य ९५ प्रतिशत सकिएको छ । उक्त भवन निर्माणका लागि पाइनस कन्ट्रक्सन प्रालि बानेश्वरले दुई वर्षमा सक्ने गरी २०८० साल भदौ १२ गते ठेक्का सम्झौता गरेको छ । उहाँले भन्नुभयो, ‘ठेकेदारले काम रफ्तारमा गरे पनि सङ्घीय सरकारबाट आउनुपर्ने बजेट नआएपछि काममा ढिलासुस्ती भएको छ ।’
‘सङ्घीय सरकारले साँढे चार करोड रुपियाँ पठाउनु र्नेछ, तर अहिलेसम्म करिब ८२ लाख रुपियाँ मात्रै आएको छ,’ गाँउपालिका अध्यक्ष बरालले भन्नुभयो, ‘पुरस्कार खाने गरी ठेकेदारले रफ्तारमा काम गरेको देखिन्थ्यो । गएको वैशाखमा नै काम सकिन्थ्यो । सङ्घीय सरकारले पठाउनुपर्ने पैसा बेलैमा नपठाएपछि काममा ढिलासुस्ती भएको छ ।’
भवनको झ्यालढोका र मार्बलको काम बाहेक अरु काम सकिएको अवस्था रहेको उहाँले सुनाउनुभयो । ‘माथिबाट आउने बजेटका लागि हामीले सम्पर्क गर्ने डोलिडारलाई हो, उस्ले अर्थलाई भन्नुभन्छ,’ गाउँपालिका अध्यक्ष बरालले थप्नुभयो, ‘अर्थ मन्त्रीलाई भेट्न हामी सानु मान्छे, पावर पुग्दैन । यस्तै छ ।’ उक्त भवन निर्माणको म्याद आगामी मङ्सिरसम्म रहेको गाँउपालिकाले जनाएको छ ।
त्यस्तै घ्याङलेख गाउँपालिकाको पनि झण्डै तीन वर्षदेखि प्रमुख प्रशासकिय भवन निर्माण गरिरहेको छ । भवन निर्माणकार्य हालसम्म ४५ प्रतिशत सकिएको छ । सङ्घीय सरकारको तीन करोड ३७ लाख ९५ हजार ६५७ रुपियाँ र गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासनिक भवन निर्माण नहुँदा अहिले दुई वटा भवनबाट काम चलाउ रुपमा सेवा प्रवाह गरेको र साना कोठा भएक कारण सेवा प्रवाहमा कठिन भएको छ । ‘स–साना कोठा छन्, कार्यालय दुई ठाँउमा राखिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले भन्नुभयो, ‘साना कोठा हुँदा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ ।’ उहाँका अनुसार भवन निर्माणको काम छिटो गरे अझै नौ महिना जति लाग्ने देखिन्छ ।
गाउँपालिकाका अनुसार उक्त गाउँपालिकाको सेवा प्रवाह सुरुमा विद्यालय भवनबाट गरिएको थियो । अहिले २ नम्बर वडा कार्यालयको भवनबाट प्रशासनिक कामको सेवा प्रवाह गरी काम चलाएको अवस्था छ । विषयगत शाखाहरु भने करिब तीन किलोमिटर टाढा डुम्रेमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको छ । उक्त भवन निर्माणका लागि १८ महिनामा सक्ने गरी पिपि ईश्वरी जेभि मन्थली, रामेछापले २०७९ साल भदौ ३१ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो । त्यसपछि दुई पटक छ÷छ महिना म्याद थप गर्दा पनि ४५ प्रतिशत मात्रै भवन निर्माण कार्य सकिएको गाउँपालिकाले जनाएको छ ।
भवनको दुई महिना अघि ढलान सकेको र अब गाराे लगाउने काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले सुनाउनुभयो । उहाँका अनुसार पछिल्लो पटक फागुन महिनामा चैतबाट लागू हुने गरी छ महिनाका लागि म्याद थपेको र अब भवन निर्माणको म्याद २०८२ भदौसम्म छ ।
उता फिक्कल गाउँपालिकाले पनि झण्डै छ करोड रुपियाँ निर्माण लागतमा प्रमुख प्रशासकीय भवन निर्माण भएको र उद्घाटन गरी सेवा प्रवाह सुरु गर्न बाँकी रहेको जनाएको छ । दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, तीनपाटन गाउँपालिकाले प्रशासनिक नयाँ भवन निर्माण गरेको जनाएका छन् । कमलामाई नगरपालिकाकाे भने पहिलेदेखि नै आफ्नै प्रशासनिक भवन रहेको जनाएको छ ।