• ४ असार २०८२, बुधबार

कागज उत्पादन गर्न सिक्दै चेपाङ

blog

नेपाली कागज बनाउने र केयर गिभर तालिमका सहभागीहरु । तस्बिर अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असार ४ गते । मकवानपुरको राक्सिराङका चेपाङ र तामाङ समुदाय पछिल्लो समय सिपसँग जोडिन थाल्नुभएको छ । विभिन्न सङ्घ संस्थाले पालिका र प्रदेश सरकारसँग सहकार्य गरेर सञ्चालन गर्ने स्वरोजगारमूलक तालिममा जोडिएर सिप सिक्न थाल्नुभएको हो । 

राक्सिराङका थापाबहादुर दोङले केराको रेसाबाट नेपाली कागज उत्पादन गर्ने सीपबाट आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिनुभएको छ । उहाँले पालिकालाई केरा खेती गर्न पालिकाले सार्वजनिक जग्गा उपलब्ध गराएमा सामूहिक रूपमा केरा खेती गरेर कागज उत्पादन गर्दै आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । 

इलिना चेपाङले स्वरोजगारमूलक सिपले युवालाई प्रोत्साहन मिलेको बताउनुभयो । तालिमसँगै बजारीकरणलाई पनि स्थानीयतह र प्रदेश सरकारले सहजीकरण गरिदिए युवालाई सिपसँग जोडिन थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा महिलालाई सशक्तीकरण गर्ने थप तालिमको पनि माग गर्नुभयो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित एक महिने नेपाली कागज उत्पादन र ३९० घण्टासम्म चलाइएको केयर गिभरसम्बन्धी तालिमको समापन गर्नुहुँदै बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले युवालाई स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सीमान्त समुदाय लक्षित योजनालाई प्राथमिकता दिएर अघि बढ्ने बताउँदै उहाँले सीमान्त समुदाय रहेका मकवानपुर, चितवन, सिन्धुली र रामेछाप जिल्लामा बीउपुँजीसहित कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । 

कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङले गाँजा खेती रोक्न युवालाई वैकल्पिक रोजगारी दिने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । तामाङ र चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङमा गाँजा खेतीको विकल्प दिन सङ्घीय, प्रदेश र स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । 

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले प्रदेश तथा सङ्घ सरकारले आफूहरूको क्षेत्रको विकासमा प्राथमिकता नदिएको गुनासो गर्नुभयो । उहाँले अल्पसङ्ख्यक र पिछडिएको चेपाङ क्षेत्रलाई हेला भएको गुनासो गर्नुभयो । 

नेपाली कागज उत्पादन तालिम उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुरको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम सङ्घ (डिमेगा) मकवानपुरले सञ्चालन गरेको हो भने राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घण्टे केयर गिभर तालिम प्रदान गरेको थियो । डिमेगा मकवानपुरका अध्यक्ष दीपेन्द्र रोक्काको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।