काठमाडौं, मङ्सिर २१ गते । त्रिभुवन विश्वविद्यालयले शीतकालीन कक्षा सञ्चालन गरेको छ । त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन (चाइनिज एकेडेमी अफ साइन्सेस–त्रिभुवन विश्वविद्यालय) र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा शीतकालीन कक्षा सञ्चालन २०२३ आरम्भ गरेको हो ।
रिमोट सेन्सिङ प्रविधिको माध्यमबाट हिउँ र हिमनदीको स्थलगत अध्ययन पश्चात् राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका २५ जना विद्यार्थी सहभागी भएको शीतकालीन कक्षामा हिमनदीमा देखिएका तत्कालीन एवम् दीर्घकालीन प्रभाव, समग्र मौसम परिवर्तनमा देखिएको परिवर्तन, हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभावलगायतका विभिन्न शीर्षकमा विज्ञ प्राध्यापकहरूबाट मङ्सिर २१ देखि पुस १ गतेसम्म ११ दिनसम्म कक्षा सञ्चालन हुने भएको छ ।
सहभागी विद्यार्थीहरू मध्ये नौ जना सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा रहेको हिमनदीहरूको तत्कालीन अध्ययन गरी फर्किएका हुन् । शीतकालीन कक्षामा भारतका दुई, पाकिस्तानका एक, भुटानका एक र थाइल्याण्डका एक विद्यार्थीहरू समेत संलग्न रहेका छन् ।
शीतकालीन कक्षा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिविका उपकुलपति प्रा.डा शिवलाल भुसालले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमार्फत विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन जल तथा मौसम विभागले सञ्चालन गरेको शीतकालीन कक्षाबाट अन्य विभागहरू समेत प्रोत्साहित हुनुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयले विश्वका प्रतिष्ठित निकायहरूसँग सहकार्य गरी आफ्ना विद्यार्थीहरूको क्षमता प्रस्फुटन गर्न थप गर्ने बताउनुभयो । शीतकालीन कक्षामा सहभागी विद्यार्थीहरूलाई प्रविधिको प्रयोगमार्फत आफ्नो विषय क्षेत्रमा उल्लेखनीय क्षमता प्रस्तुत गर्न समेत अनुरोध गर्नुभएको थियो । कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले अन्तरदेशिय शैक्षिक सहकार्यमार्फत विभागले जल तथा मौसम विज्ञान विषयको क्षेत्रमा आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्दै गइरहेको र स्थलगत अध्ययन पश्चात् सञ्चालन गरी कक्षाबाट विद्यार्थीहरू थप लाभान्वित हुने बताउनुभएको थियो ।
विज्ञान र वैज्ञानिकहरू सधैँ खोज र अनुसन्धानका लागि क्रियाशील रहनुपर्ने भन्दै उहाँले मौसम परिवर्तन र हिमनदीमा देखिएका जोखिमपूर्ण परिवर्तनको वास्तविक अध्ययनमार्फत भविष्यमा हुनसक्ने विश्वसङ्कटबाट जोगाउन शीतकालीन कक्षा सञ्चालन थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी) का प्रतिनिधि डा.प्याट्रिक वागनोन र डा. एडिना राकोभिटानुले विद्यार्थीहरूलाई कक्षामा आफ्नो उत्सुकता सम्बन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गर्नुभएको थियो । डा. प्याट्रिकले चार वर्षे आफ्नो नेपाल बसाइमा उच्च हिमालीय क्षेत्रको विस्तृत अध्ययन गरी धेरै कुराहरू सिक्न पाएको बताउनुभएको थियो ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दीपक अर्यालले शीतकालीन कक्षा सञ्चालनले विद्यार्थीहरूमा अध्ययन र अनुसन्धान प्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययनमार्फत बौद्धिक क्षमताको विकास गराउन समेत सफल भइरहेको बताउनुभयो । विद्यार्थीहरूलाई निरन्तर अवसरहरू उपलब्ध गराइरहने र उनीहरूलाई उत्कृष्ट अध्ययन/अनुसन्धान गर्ने वातावरण निर्माणमा विभाग लागि रहेको बताउनुभयो । कार्यक्रममा त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन (केसिआरइ)का उपनिर्देशक डा. विनोद दवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै स्थलगत अध्ययनमा देखिएका व्यवहारिक ज्ञान र सूचनाहरूलाई आफ्नो अध्ययनसँग समन्वय गर्न विद्यार्थीहरूलाई अनुरोध गर्नुभएको थियो ।
उहाँले शीतकालीन कक्षाको माध्यमबाट विद्यार्थीहरूमा थप नेटवर्किङ भई सम्पर्क विस्तार हुने उद्देश्य रहेको बताउनुभएको थियो । हिमनदी तथा उच्च हिमाली क्षेत्रमा देखिएका पर्यावरणीय परिवर्तनबारेमा प्राप्त सूचना तथा तथ्याङ्कहरूको उपयुक्त उपयोगी गरी अनुसन्धानका जोडिन समेत विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुभएको थियो ।
कार्यक्रममा शीतकालीन कक्षा सन् २०२३ को नेतृत्व गरिरहनुभएका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा.दिवस श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै शीतकालीन कक्षा सञ्चालनका मुख्य मुख्य विषयहरूमा बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो ।