• १३ साउन २०८१, आइतबार

मार्सी धान उत्पादन २५ प्रतिशतले बढ्यो

blog

चङ्खेली गाउँपालिकामा लगाएको धान र किसान काट्दै । फाइल तस्बिर ।

राजन रावत

हुम्ला, मङ्सिर २० गते । हुम्लामा यस वर्ष मार्सी धान उत्पादनमा वृद्धि भएको छ । अधिकांश खेतमा सिँचाइको सुविधा हुनु र धानमा रोग किरा नलागेको कारण उत्पादनमा वृद्धि भएको हो । 

जिल्लामै सबैभन्दा मार्सी धान उत्पादन बढी हुने चङ्खेली गाउँपालिका–२ की जानकी शाहीले गत वर्ष भन्दा यस वर्ष धान राम्रो फलेको बताउनुभयो । दुई हल जग्गामा धान रोप्नु भएकी शाहीले यस पाँच क्विन्टलभन्दा बढी धान पाउन भएको छ । जब कि सोही खेतमा गत वर्ष धान लगाउँदा तीन क्विन्टल मात्र फलेको थियो । 

कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले जिल्लाका सातमध्ये छ वटा गाउँपालिमा मार्सी धान फल्ने र ती सबै गाउँपालिकाको विवरण अनुसार यस वर्ष पच्चीस प्रतिशत धान उत्पादनमा वृद्धि भएको बताउनुभयो । जिल्लाभरि एक हजार ३७७ हेक्टर जग्गामा धान खेती लगाइएकोमा यस वर्ष दुई हजार १६७ मेट्रिक टन धान उत्पादन भएको उहाँले बताउनुभयो । जब कि गत वर्ष सोही जग्गामा धान लगाउँदा एक हजार ७३४ मेट्रिकटन धान मात्र फलेको थियो । उहाँले यसरी धान उत्पादनमा वृद्धि हुनुमा अधिकांश खेतमा सिँचाइ सुविधा पुगेको र धानमा रोग किरा नलागेको कारण राम्रो उत्पादन भएको बताउनुभयो । 

यस्तै, मार्सी धान सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका फल्छ भने नाम्खा गाउँपालिकामा भने धान फल्दैन ।