• २७ पुस २०८१, शनिबार

विनियोजित रकमको सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री महत

blog

नवलपुरको कावासोतीमा बन्न लागेको नमूना सदरमुकामको अवलोकन गर्नुहुदै अर्थमन्त्री डा. प्रकाश शरण महत । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, मङ्सिर १९ गते ।
 अर्थमन्त्री डा. प्रकाश शरण महतले नवलपुरमा बन्न लागेको नमुना सदरमुकामको योजनालाई बहुवर्षिय योजनामा लैजान आग्रह गर्नु भएको छ । पहिला विनियोजन भएको रकम बर्सेनि फ्रिज हुँदै गएकाले यसको सदुपयोग गर्नुपर्ने बताउनु भयो ।

मङ्गलबार नवलपुरको विभिन्न कार्यक्रममा सहभागी हुन आउनु भएका अर्थमन्त्री डा. महतले कावासोतीमा बन्न लागेको नमुना सदरमुकामको अवलोकन गर्नुहुँदै पर्खने कार्य गर्न नहुने बताउनु भयो । जति आवश्यक कार्यालयहरू छन् त्यसका लागि निर्माण कार्य तत्काल अघि बढाउनु पर्नैमा जोड दिनु भयो । चालु वर्ष २० करोड बजेट विनियोजन भएको र यसले आवश्यक भवनहरू बनाउन सहरी विकास मन्त्रालय भनेको र काम सुरु भए पछि मास्टर पलान अनुसार सदरमुकाम निर्माण गर्न आयोजनालाई बहुवर्षिय योजनामा रूपान्तरण गर्ने उहाँको भनाइ थियो ।

कार्यालयको आवश्यकता अनुसार सानो सानो भवनबाट सुरु गरिहाल्ने र सरकारले त्यसका लागि विनियोजन गरेको रकम पठाउने बताउनु भयो । लामो समयदेखी नमुना सदरमुकामले गति लिन सकेको छैन । नयाँ जिल्लामा कुनैपनि सरकारी कार्यालयहरू नभएकाले सबै कार्यालयहरू एकै ठाउँमा बनाउने उद्देश्यसहित एकीकृत नमुना सदरमुकामको शिलान्यास गरिएको थियो ।

तर नमुना सदरमुकाम शिलान्यास गरेको झण्डै चार वर्ष हुँदासम्म पनि निर्माण कार्यले गति लिन सकेको छैन । नयाँ बनेको जिल्ला नवलपुरको सदरमुकामका लागि कावासोती नगरपालिका–३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनभित्र रहेको एक सय ८६ बिघा चउर र वन क्षेत्र छुट्याएको छ । नमुना सदरमुकाम निर्माण स्थलमा नमुना सदरमुकाम उल्लेख गरिएको एउटा स्तम्भबाहेक अरू केही पनि छैन । शिलान्यास गर्दा निर्माण गरिएको ताम्रापत्र र शिलालेख पनि हराइसकेका छन् ।

नवलपुरका सरकारी कार्यालय अहिले भाडाका घरमा छन्  । नापी, मालपोत र वन कार्यालयबाहेक २७ सरकारी कार्यालय भाडाको घरमा सञ्चालनमा छन् । हरेक महिना जिल्लाका सरकारी कार्यालयले करिब १० लाख रुपियाँ भाडा बुझाउने गर्छन् । सदरमुकाम क्षेत्रमा सरकारी कार्यालयबाहेक करिब पाँच हजार जना अट्ने अत्याधुनिक सभा हल, २५ हजार दर्शकले खेल हेर्न सक्ने फुटबल मैदान, ग्रिन पार्क, कभर्डहल निर्माण हुनेछ  ।  डीपीआरअनुसार एकीकृत नमुना सदरमुकाम बनाउन २६ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ  ।