• ३ जेठ २०८३, आइतबार

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

blog

फाइल तस्बिर ।

ढोरपाटन (बागलुङ), मङ्सिर १८ गते । सोमबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताउनुभयो । 

आइतबार साँझदेखि वर्षा भएपनि सामेबार बिहानदेखि नै हिमपात भएको घर्तीमगरले जानकारी दिनुभयो । हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्न सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको उहाँले बताउनुभयो । चरनका लागि पातिहाल्ने लगिएका वस्तुभाउ पनि बेसी झारिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै गठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडीहरु चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, बेँसीबाट लिएका भेडाबाख्रा पनि फर्काइएको छ, आज रातिसम्म हिमपात हुने सम्भावना देखिएको छ ।”

ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिनुभयो । लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन् ।

खेतबारीमा लगाको गहुँ, जौ र तोरी सुक्न थालेपछि चिन्तित बनेका किसानलाई यो बेलाको वर्षाले राहत दिएको भण्डारीको भनाइ छ । रासस