• २३ वैशाख २०८२, मङ्गलबार

मुस्ताङमा हिमपात हुँदा चिसो बढ्यो

blog

मुस्ताङको कागबेनी क्षेत्रमा परेको हिमपात । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १८ गते ।
मुस्ताङमा सोमबार बिहानैदेखि हिमपात भएको छ । हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । चिसो बढेका कारण जनजीवन प्रभावित भएको छ ।

मुस्ताङका सबै क्षेत्रमा बिहानैदेखि हिमपात भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडानम्बर ४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार जोमसोम, कागबेनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङको लोमान्थाङलगायतका उच्च हिमाली भेगमा बिहानैदेखि हिमपात भएको छ । हिमपातसँगै अत्याधिक चिसो बढेको उहाँले बताउनुभयो ।

माथिल्लो मुस्ताङको लोमान्थाङमा झण्डै २ फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिनुभयो । हिमपातका कारण पानी जमेको छ उहाँले भन्नुभयो, ‘‘सोमबार बिहानैदेखि परेको हिमपातका कारण धारामा पानी जमेको छ । अत्यधिक चिसो भएको छ । चिसोका कारण लोमान्थाङ भ्रमणमा आएका पर्यटकहरु प्रभावित भएका छन् ।’’

हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसी भएको मुस्ताङका कृषक नुटुक गुरुङले बताउनुभयो ।