• १२ साउन २०८१, शनिबार

सञ्चालनमा आएन ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’

blog

अस्तव्यस्त रहेको चापाकोटको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर १८ गते ।
कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र पढ्दै कमाउदै मोडेलमा सञ्चालन हुन लागेको ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’ वर्षाैसम्म अलपत्र परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा रहेको प्रस्तावित कलेज हालसम्म पनि सञ्चालन आउन सकेको छैन ।

क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक १२० रोपनी जग्गा व्यवस्थापन भइसकेको छ भने क्याम्पसले सम्बन्धनको कामसमेत सकाएको छ । २०७४ सालमा सम्बन्धन पाएको कलेज सञ्चालनमा आउने तयारी भए पनि लामो समयदेखि अस्तव्यस्त भएको स्थानीयको आरोप छ । तत्कालीन जनसामूहिक प्राथमिक विद्यालय परिसरमा कलेज स्थापना हुन लागेको हो । स्थानीयहरुले आवश्यक जग्गा उपलब्ध गराएसँगै जग्गाको न्यूनतम मापदण्ड पूरा भएको वडा अध्यक्ष टोपलाल न्यौपानेले बताउनु भयो ।

कलेज स्थापनाको समयमा राजनैतिक विवादका कारण पटक पटक समिति बनेको भए पनि पछिल्लो समय सबै राजनैतिक दलहरु बिच सहमति रहेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । सबै दलको सहमतिमा नगरप्रमुख देवबहादुर खाण (ईश्वर)को संयोजकत्वमा समिति गठन भएको उहाँले बताउनुभयो । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र चापाकोट नगरपालिकाको आयोजनामा पटक पटक छलफल भएको भए पनि निष्कर्षमा पुग्न नसकिएको बताइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारले समेत क्याम्पस सञ्चालनमा प्रभावकारी चासो नदेखाएको स्थानीयको भनाइ छ । 

चापाकोटमा कृषि क्याम्पस सञ्चालन हुँदा गण्डकी र लम्बिनी प्रदेशका विद्यार्थीलाई राहत मिल्ने चापाकोट नगरप्रमुख खाणले बताउनुभयो । उहाँले कलेज सञ्चालनका विषयमा नियमित रुपमा लागिरहेको जानकारी दिनुभयो । पालिकाले अर्थ मन्त्रालय र विश्वविद्यालयसँग समन्वय गरिरहेका प्रमुख खाणको भनाइ छ । आफूहरु यो विषयलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्रीसँगको समेत भेट गरिसकेको खाणले बताउनुभयो ।