• २१ असार २०८१, शुक्रबार

कौरा नाचको संरक्षणमा जुटे युवा

blog

होमराज रानाभाट

कावासोती, मसिर १६ गते । लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रूपमा मगर समुदायको कौरा नाच लोप हुँदै जान थालेपछि पछिल्ला दिनमा यसको जगेर्ना गर्न पूर्वी नवलपरासीका मगर युवाहरू लागिपरेका छन् । 

नवलपरासीपूर्व सबैभन्दा बढी मगर जातिको जनसङ्ख्या भएको जिल्ला हो । पछिल्ला दिनमा लोक संस्कृति हराउँदै जान थालेपछि कौरा नाच समेत लोप हुने चिन्ताले मगर समुदायका युवाहरू अहिले हरेक गाउँमा पुगेर यसको प्रचारसँग कौरा नाचमा आकर्षण बढाउन लागिपरेको बुलिगँटार गाउँपालिकाका समाजसेवी चेसराम आले मगरले बताउनुभयो । 

मगर जातिको सबैभन्दा रमाइलो र सांस्कृतिक महत्त्व झल्कने नाचका रूपमा लिइने कौरा नाच अहिले मगरहरू गाउँबस्तीबाट बिस्थापति भई सहर पस्न थालेपछि यो नाच नै लोप हुन्छ कि भन्ने चिन्ताले पनि यसको संरक्षण र जगेर्ना गर्दै कौरा नाचप्रति आकर्षण बढाउन बुलिगँटारका युवाहरू जिल्लाभर समूह बनाएर प्रचार प्रसारमा लागेको बुलिगँटारका अगुवा भबिलाल रानामगरले बताउनुभयो । 

गैँडाकोट नगरपालिका, बुलिगंटार, बौदीकाली, हुप्सेकोट, बिनयीत्रिबेणी गाउँपालिका मगर जातिको बाक्लो बस्ती रहेको छ । यो जिल्लामा बाहुन, क्षेत्रीभन्दा बढी मगरको बाहुल्यता रहेको छ । यहाँको समाजमा कौरा, झाम्रे, मारुनी नाच मगरहरूको विशेष नाचका रूपमा लिइने गरिन्छ । तर झाम्रे र मारुनी नाचभन्दा पनि कौरा नाच बढी प्रचलनमा आएकाले पनि यसको महत्त्व झन् बढेको बुलिँगटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले बताउनुभयो ।

अहिले पहाडी क्षेत्रका बिशेषगरि युवाहरू कौरा नाचको संरक्षणका लागि २० वटा समूह बनाएर मगर युवा र युवतीहरू जुटेका छन् । यसका लागि कोष नै खडा गरेर हरेक गाउँ गाउँमा नाचगान गरेर यसको दिगो संरक्षणका लागि लागेका स्थानीय कलाकार यमबहादुर आले मगरले बताउनुभयो ।

मगर जातिलाई चिनाउने र मगरको पहिचानको रुपामा रहेको, परापूर्व कालदेखि प्रचलनमा आएको कौरा नाचको जगेर्ना आवश्यक भएको बुलिगंटार ४ का भेटबहादुर राना मगरले बताउनुभयो ।

लोप हुन लागेको कला र संस्कृतिको जगेर्ना गर्न र संरक्षणका लागि सबैले चासो दिएर काम गर्ने हो भने नेपाली कला र संस्कृतिको विकास अझ बढ्न सक्ने गैँडाकोट नगरपालिका –१८ का वडाध्यक्ष तिलबहादुर चितौरे मगरले बताउनुभयो ।