• १२ साउन २०८१, शनिबार

मनपरी भाडा असुल्दै अटो

blog

वीरेन्द्रनगरमा सञ्चालित नगर बस । फाइल तस्विर : नवीन शाही

काँक्रेविहार समाचारदाता

सुर्खेत, मङ्सिर १४ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अटोरिक्साले मनपरी भाडा असुल्दै आएका छन् । संयुक्त यातायात व्यवसायीले वीरेन्द्रनगरमा सञ्चालन गरेको नगर बसले यात्रुलाई केही सहज भएको थियो ।  स्थानीय जुनकला सिंहका अनुसार नगर बसले धुलियाबिटदेखि २० रुपियाँमा प्रदेश अस्पताल पुर्‍याउँथ्यो । अहिले अटोमा जाँदा कम्तीमा तीन सय रुपियाँ तिर्नु पर्छ । त्यही पनि मनपरी छ । 

असार १ गतेदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा ल्याइएको थियो । दसैँअघिदेखि नगर बस बन्द छ । वीरेन्द्रनगरस्थित संयुक्त यातायात व्यवसायीले नगर बस सञ्चालनमा ल्याएका थिए । वीरेन्द्रनगर नगरपालिकाले नगर बस सञ्चालन गर्ने योजना ल्याएपछि त्यसलाई सहयोग पुग्ने गरी निजी क्षेत्रले साझेदारी गरेको थियो तर बन्द हुने अवस्थामा नगरपालिकाले सहयोग नगरेको व्यवसायीको गुनासो छ । 

वीरेन्द्रनगरको धुलियाबिट–मङ्गलगढी–मूलपानी–प्रदेश अस्पताल–कुमाइचोक भएर हिलेखाली चोकबाट बाङ्गेसिमल हुँदै पुनः सोही रुट भएर नगर बस सञ्चालनमा थियो । उक्त रुटमा एक पटक चढे–झरेको २० रुपियाँ थियो । केही महिनापछि संशोधन भई ३० रुपियाँ भाडादर तोकिएको थियो । तत्कालीन समयमा व्यवसायीले डिजेलको मूल्य अनुसारको भाडादर तोकेका थिए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशका संयोजक रमेशकुमार सापकोटाले डिजेलको मूल्य बढेसँगै नगर बस सञ्चालनमा घाटा भएपछि सेवा बन्द गर्नु परेको बताउनुभयो । 

उहाँका अनुसार तत्कालीन समयमा १४६ रुपियाँ प्रतिलिटर डिजेलको मूल्य बढेर १६२ पुगेपछि सेवा बन्द गरिएको हो । संयोजक सापकोटाले सरकारी निकायबाट साझेदारीको कुरा हुन नसकेको गुनासो व्यक्त गर्नुभयो ।  उहाँले नगरपालिकाले अपनत्व लिने गरी केही साझेदारीको प्रस्ताव हुन सकेको अवस्थामा नगर बस पुनः सञ्चालन गर्न सकिने बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले यातायात व्यवसायीका तर्फबाट नगर बस बन्द हुनुको जानकारी आफूसमक्ष नआएको बताउनुभयो ।  नगर प्रमुख ढकालले भन्नुभयो, “नगर बस सञ्चालन गर्ने हाम्रो योजनामै भए पनि निजी क्षेत्रको सहयोग ठानेका थियौँ । बस सेवा बन्द भएको जानकारी आएपछि छलफल गरेर अघि बढ्छौँ ।”