• १२ साउन २०८१, शनिबार

आमाबाबुको स्मृतिमा करोडको धर्मशाला

blog

आमाबुवाको स्मृतिमा बर्दिबास–१४ मा नवनिर्मित धर्मशाला हस्तान्तरण गर्दै हमाल परिवार । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर १३ गते । बर्दिबास–१ का हमाल दाजुभाइले दिवङ्गत आमावुवाको स्मृतिमा करोडौँ खर्चिएर धर्मशाला निर्माण गरी समाजलाई हस्तान्तरण गर्नुभएको छ । 

बुवा नीरबहादुर हमाल तथा आमा रत्नकुमारीको सम्मान र सम्झनामा छोराहरू डा. कृष्ण हमाल, चिरञ्जीवी हमाल, ओमकार हमाल, नेपाली सेनाका पूर्वरथी किशोर हमाल तथा छोरी दुर्गा शाहीले १ करोड ५ लाख खर्चेर धर्मशाला निर्माण गर्नुभएको हो । 

बर्दिबास १४ स्थित राम–जानकी मन्दिर परिसरमा निर्मित ‘नीर रत्न धर्मशाला’ को दुई तले भवनमा ७ कोठा र एक हल छ । स्थानीयका अनुसार सो मन्दिर पनि ५ दशकअघि दिवङ्गत हमालकै सहयोग र सक्रियतामा निर्माण भएको थियो । 

नवनिर्मित धर्मशालाको मधेश प्रदेश सांसद शारदा थापा तथा डा. कृष्ण हमालले बुधवार एक समारोहबिच उद्घाटन गर्नुभयो । उद्घाटन पश्चात् धर्मशालालाई लोक कल्याणका निम्ति हस्तान्तरण गरिएको छ । धर्मशाला व्यवस्थापन र सञ्चालनको दायित्व नीर रत्न ट्रष्टलाई दिइएको छ ।  

प्रदेश सांसद थापाले दूरदर्शी एवम् विकाशका संवाहक स्वर्गीय नीरबहादुर हमालको सत्प्रयासले तत्कालीन अवस्थामै बर्दिबासमा विकाश तथा सम्मुनतिका मार्गचित्र कोरिएको धारणा राख्नुभयो । पञ्चायतकालको कालरात्रीमा पनि स्व. हमालले बर्दिबासमा सडक, स्वास्थ्य, शिक्षा, सुरक्षा व्यवस्था, हाटबजार तथा संस्थाको स्थापना गरी विकासको जग हालेको बताउनुभयो ।  

‘त्यही जगमा टेकेर बर्दिबासले आजको विकास गर्न सकेको हो’ थापाले भन्नुभयो । धर्मशाला हस्तान्तरण गर्दै डा. कृष्ण हमाल तथा चिरञ्जीवी हमालले मातापिताको स्मृति र कृतिलाई नवनिर्मित धर्मशालाले जीवन्त राख्न सहयोग पुग्ने बताउनुभयो ।