• १२ पुस २०८१, शुक्रबार

गाजाबाट थप १२ बन्धक रिहा

blog

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र), मङ्सिर १३ गते । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबिचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबिच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् ।

प्रारम्भिक चार दिने युद्धविरामको ४८ घण्टाको विस्तारपछि मङ्गलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजरायलले ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । बन्दीहरूका लागि बन्धकहरूको अर्को आदानप्रदानको अपेक्षासँगै विस्तारित सम्झौताको अन्तिम २४ घण्टा बुधबारपछि सुरु हुन्छ । यद्यपि मध्यस्थकर्ता कतारले उसले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ ।

“अहिले हाम्रो मुख्य ध्यान र आशा एउटा स्थायी युद्धविरामसम्म पुग्ने हो जसले थप वार्ता हुनेछ र अन्ततः यो युद्धको अन्त्य गर्नेछ”, कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले दोहामा पत्रकारहरूसँग भन्नुभयो, “यद्यपि हामीसँग जे छ त्यसैमा काम गरिरहेका छौँ, अहिले हामीसँग भएको सम्झौताको प्रावधान हो जसले हामीलाई कम्तीमा १० बन्धकको रिहाइको प्रत्याभूति गर्न हमासले त्यतिबेलासम्म युद्धविरामको दिन लम्ब्याउन अनुमति दिन्छ ।”

हमास र इस्लामिक जिहादका मास्क लगाएका सशस्त्र लडाकुहरूलाई इजिप्टको सीमा नजिकै रफाहमा बन्धकहरूलाई रेडक्रस अधिकारीहरूसमक्ष बुझाएको देखेको एएफपीका पत्रकारले बताएका छन् ।

मुक्त गरिएका इजरायली बन्धकहरूमा १७ वर्षीया मिया लिम्बर्गसहित सबै महिला थिए । लिम्बर्ग आफ्नी आमा र काकीसँग इजरायल फर्केकी थिइन् । तीनै जनालाई किबुत्ज निर यित्ज्याकबाट अपहरण गरिएको थियो । रिहा भएपछि ती किशोरीलाई उनको कुकुर बेलालाई समाएको देखिएको थियो ।

बन्धकहरूले सामना गर्नुपरेको स्थितिका बारेमा अहिलेसम्म केही प्रत्यक्ष विवरण आएका छन् । सोमबार रिहा भएकी १२ वर्षीय इटन याहलोमीकी हजुरआमाले पुरुषहरूलाई १६ दिनसम्म एकान्त कारवासमा राखिएको बताउनुभयो । “उनी एक्लै भएका दिनहरू भयानक थियो”, एस्तेर येलीले इजरायली समाचार वेबसाइट वाल्लालाई भन्नुभयो, “अहिले इटन धेरै अन्तर्मुखी भएको छ ।”

स्थानीय मिडियाका अनुसार इजरायल सरकारलाई बुधबार रिहा हुने नयाँ बन्धकहरूको एउटा सूची प्राप्त भएको छ । यद्यपि यसको कुनै आधिकारिक पुष्टि भएको छैन । सम्झौताको सर्तअन्तर्गत अहिलेसम्म ६० इजरायली बन्धकलाई गाजाबाट मुक्त गराइएको छ । सम्झौताको दायराभन्दा बाहिर रहेर एक रुसी–इजरायल, २० थाई र एक फिलिपिनोलाई मुक्त गरिएको छ ।

बदलामा एक सय ८० प्यालेस्टिनी महिला र नाबालिग बन्दीलाई रिहा गरिएको छ । रिहा हुनेमा १४ वर्षीय अहमद सलाइमा पनि थिए । उनी पूर्वी जेरुसेलममा आफ्नो घर फर्किएका थिए र आफ्ना आफन्तहरूसँग अँगालो हालेका थिए । “जेलमा रहँदा अहमद सबैभन्दा कम उमेरका प्यालेस्टिनी बन्दी भए पनि हामीले उनलाई भेट्न सकेनौँ”, उहाँका बुबा नायेफले भन्नुभयो ।

इजरायली अधिकारीहरूका अनुसार युद्धविराम सम्झौताले हमासको अक्टोबर ७ को हमलाबाट सुरु भएको युद्धलाई अस्थायीरूपमा रोकेको छ । हमासको उक्त हमलामा इजरायलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए ।

इजरायलले जवाफमा गाजामा गरेको हवाई र स्थल कारबाहीमा करिब १५ हजार मानिसको मृत्यु भएको र गाजाको उत्तरी क्षेत्रको ठुलो भूभाग बस्नलायक नरहेको हमासका अधिकारीहरूले बताएका छन् । रासस/एएफपी