• १२ साउन २०८१, शनिबार

काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ हुँदै

blog

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

काठमाडौं, मङ्सिर १२ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना गर्ने भएको छ । मङ्गलबार महासङ्घले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९को कारण केही वर्ष रोकिएको मेला यो वर्षबाट निरन्तरता दिन लागेको बताउनुभयो । उहाँले मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मदत पुग्ने तथा अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताहरूको एकै ठाउँमा भेट हुने माध्यम बन्ने  बताउनुभयो ।

उहाँले मेलाबाट नेपाली उत्पादन र विदेशी उत्पादनको सहज रूपमा अवलोकन गर्न सकिने दाबी गर्नुभयो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय व्यापार मेलाले जिल्ला तहमा वृद्धि हुँदै गएका व्यापार मेलाहरूलाई पनि मद्दत पुग्ने बताउनु भयो । उहाँले मेलामा चीनबाट ५५, भारतबाट ३०, बङ्गलादेश र पाकिस्तानबाट आठ/आठ वटा स्टलहरू रहने जानकारी दिनुभयो । उहाँले मेलामा २१० वटा स्टलमार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने बताउनुभयो ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने एक माध्यम बन्दै आएको महासङ्घको भनाइ छ । मेलामा नेपालको औद्योगिक व्यवसायी सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास महासङ्घले  लिएको छ । मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबिच कृषि, जडीबुटी, औषधि, हस्तकलाका वस्तुहरूको विषयमा छलफल समेत हुनेछ ।