• १३ साउन २०८१, आइतबार

स्याङ्जामा घट्यो सुन्तला उत्पादन

blog

पुतलीबजार नगरपालिका मायटारीकी महिना कृषक तारा अर्यालले उत्पादन गरेको सुन्तला । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ मङ्सिर ९ गते ।
 स्याङ्जामा यस वर्ष सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा करिब २५ प्रतिशत कम हुने देखिएको हो ।

गएको वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १७ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ ।

सुन्तला उत्पादनमा कम भए पनि मूल्यमा भने धेरै कमी नआउने प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष सुन्तला पातलो फलेको छ तर दानाको आकार ठुलो छ त्यसैले मूल्यमा धेरै फरक पर्ने अवस्था छैन ।”

सुन्तलाको उत्पादन घट्नुको प्रमुख कारण प्राकृतिक रहेको प्रमुख लम्सालको भनाइ छ । एक वर्ष सुन्तलाको बोटले बाक्लो फल दिने र अर्को वर्ष पातलो फल दिने गरेको छ । बगैँचा सही व्यवस्थापन हुन नसकेको कारण पनि सुन्तला उत्पादनमा कमी आएको लम्सालले बताउनु भयो ।

लम्सालका अनुसार जिल्लाका अधिकांश क्षेत्रमा गरिने सुन्तला खेतीमा यही समस्या रहेको छ । उहाँले थप्नुभयो, “एक वर्षको अन्तरालमा उत्पादनमा फरक आउने सुन्तलाको जातीय गुण पनि हुन सक्छ,यसको अलवा मलजल र उचित हेरचाह पनि हो ।”

गएको साल स्याङ्जाका किसानले सुन्तलाबाट एक अर्ब बराबरको आम्दानी गरेको लम्सालले जानकारी दिनुभयो । यो वर्ष आम्दानी घट्ने निश्चित छ यसको विवरण अन्तिममा मात्रै तयार हुनेछ उहाँले भन्नुभयो ।

जिल्लाभर २२ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । ती मध्ये एक हजार तीन सय हेक्टर उत्पादनशील बगैँचा छन् भने तीन हजार पाँच सय जना सुन्तला व्यावसायिक  किसान जिल्लामा रहेका छन् ।

जिल्लाभरका १२ हजार धरधुरी सुन्तला किसानका तीन हजारभन्दा बढी साना ठुला सुन्तलाका बगैँचा छन् । स्याङ्जाका ६/७ वडा बाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुन्छ । सुन्तलाका लागि उपयुक्त भूगोल रहेको स्याङ्जामा प्रधानमन्त्री सुन्तला सुपरजोन कार्यक्रमले पनि उत्पादन बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिका र अर्जुन गाउँपालिकाका १७ वटा वडालाई समेटेर सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ । कार्यक्रम सञ्चालनपछि सहकारी, समूह र निजी फार्म दर्ता गरी सुन्तला खेती गर्न किसानको सङ्ख्या बढेको सुपरजोन कार्यालय प्रमुख लम्सालको भनाइ छ ।

पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिकासहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । चापाकोट नगरपालिका बाहेक जिल्लाका सबै पालिकामा सुन्तलाको खेती गरिँदै आएको छ ।

कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलोसातासम्म रहन्छ । सुन्तला बिरुवा रोपेको ५ देखि ७ वर्षभित्रमा फल दिने हुँदा सुन्तला खेतीप्रति किसानको आकर्षण बढ्दो छ । त्यसमा पनि सुपरजोन र जिल्ला कृषि ज्ञान केन्द्रको पनि सहयोग राम्रो रहेको छ ।

स्याङ्जाको सुन्तला रसिलो र स्वादिलो हुने हुँदा पोखरा,बुटवल लगायतका ठाउँमा माग रहेको कृषकको भनाइ छ ।