• ९ मंसिर २०८१, आइतबार

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सुरु

blog

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठक ।

काठमाडौं, मङ्सिर ८ गते । सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश पदका लागि सिफारिस गरेका सारङ्गा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो । साथै बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित राजदूत र सर्वोच्चका न्यायाधीश पदमा सिफारिस गरिएकाहरुका लागि उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव समितिबाट पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिनुभयो ।


सभापति जबराले भन्नुभयो, ‘‘प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस व्यक्तिहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यममार्फत सूचना प्रकाशित गर्ने प्रस्ताव प्रस्तुत गर्दछु । सुनुवाइका लागि समितिमा प्राप्त राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीश प्रस्तावित व्यक्तिका नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्नेसम्बन्धी सूचना प्रकाशन तथा प्रकाशित गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’’

न्यायपरिषद्को यही मङ्सिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरु मुसलमान, पौडेल र ढुङ्गाना तथा कानुन व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरी मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि आवासीय राजदूतको रुपमा नियुक्ति गर्ने सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिको अनुमोदन गरेपछि राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश तथा पोर्चुगलका लागि प्रस्तावित राजदूतको नियुक्त गर्ने व्यवस्था छ ।