• २१ असार २०८१, शुक्रबार

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

blog

गलेश्वर (म्याग्दी),  मङ्सिर ७ गते । आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधिनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । गलेश्वरदेखि बेनीसम्मको कालीगण्डकी किनारमा स्नान गर्नेको घुइँचो लागेको छ ।

म्याग्दी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रूपमा रहेको बेनीमा हरिबोधिनी एकादशीमा स्नान गर्नुका साथै गलेश्वर र बेनीस्थित लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न ठुलो सङ्ख्यामा भक्तजन आएका छन् । मुक्तिनाथबाट बगेर आउनुका साथै भगवान् विष्णुको अवतारका रूपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी घरघरमा रोपिएका तुलसीको भगवान् दामोदर ९विष्णु०सँग विवाह गरिदिने प्रचलन रहेको छ ।

कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा असारमा पर्ने हरिशयनी एकादशीमा रोपिएको तुलसीको विवाह गरिन्छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ । आजदेखि चतुर्मास व्रतकोपनि समाप्त गरिन्छ ।

हरिबोधिनी एकादशीलाई ठुली एकादशी पनि भनिन्छ । आजका दिन, असार शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् श्रीविष्णु उठ्नु हुने पुराणमा उल्लेख छ । आजको एकादशीमा गरिने स्नान, दान, तपआदि सबै कार्यले अक्षययज्ञ बराबरको फल दिने धार्मिक विश्वास गरिन्छ ।

हरिशयनी एकादशीदेखि चार महिना क्षीरसागरमा भगवान् श्रीविष्णु सुतेपछिको अवधिलाई चतुर्मास भनिन्छ । यस अवधिमा कुनै माङ्गालिक कार्य गर्नुहुँदैन भन्ने मान्यता छ । यो चार महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिँदैन । चतुर्मासको अन्त्यसँगै माङ्गालिक कार्यका लागि मुहूर्त खुल्ने धार्मिक मान्यता रहेको छ ।

कात्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक भनिन्छ । महाभारत अनुसार कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिनव्रत बसेका थिए । त्यसैले अरू दिनमा व्रत बस्न नसक्ने हिन्दु धर्माबलम्बीलेसमेत ठुलो एकादशीको दिनमा भने व्रत बस्नुपर्ने मान्यता रहेको छ । हिन्दु धर्मशास्त्र वा आयुर्वेदमा महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि महत्त्वपूर्ण छ ।  रासस