• २२ वैशाख २०८२, सोमबार

वैदेशिक रोजगारीमा जाने महिला बढे

blog

जिल्ला प्रशासन कार्यालय तनहुँमा राहदानी बनाउने क्रममा फोटो खिचाउँदै म्याग्दे गाउँपालिका–५ की सलिना गुरुङ ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर ६ गते । पछिल्लो समय तनहुँमा कामको खोजीमा विदेशिने महिला ह्वात्तै बढेका छन् । जिल्लामा पहिला वैदेशिक रोजगारीको लागि पुरुष मात्रै लर्को लाग्ने गरेकोमा हाल महिलाहरूको विदेश जाने क्रम पनि बढ्दो छ । 

वैदेशिक रोजगारीमा जाने बढेसँगै जिल्ला प्रशासन कार्यालय तनहुँमा राहदानी बनाउने महिलाको सङ्ख्या दिन प्रति दिन बढिरहेको छ । गत आर्थिक वर्षमा पाँच हजार सात सय ९८ जना महिलाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार सोही अवधिमा छ हजार पाँच सय ९७ जना पुरुषले राहदानी बनाएका छन् । 

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत ऋषिराम सुवेदीले ९० प्रतिशत महिलाहरू विदेश जानुपर्छ भन्ने भावना भएकोले विदेशिने बढेको बताउनुभयो । विदेशमा रहेका आफ्नो परिवार, आफन्त तथा साथीहरूले बोलाउने गरेकाले स्वदेशमा बस्न नचाएको सुवेदी बताउनुहुन्छ । सुवेदीले भन्नुभयो, "नेपालमा जागिर पाइन्छ भन्ने विश्वास छैन, लोकसेवा कुरेर कोही बस्दैनन् ।" १२ पास गरेपछि अधिकांशको विदेश जानुपर्छ भन्ने भावना विकास हुँदै गएकोले महिलाहरू पनि विदेश जाने बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "अहिलेको युवा र युवती दुवैमा स्वदेशमा स्वरोजगार हुने, जागिर खानुभन्दा वैदेशिक रोजगारीमा जाने सोचाई हुने भएकाले महिलाको सङ्ख्या बढेको छ ।" महिलाहरू सङ्ख्या बढिरहेकोले झण्डै पुरुष सरह पुग्न लागेको प्रशासनले जनाएको छ ।  

पहिले थोरै सङ्ख्या मात्रै वैदेशिक रोजगारीमा महिला जाने गरेमा हाल दिनप्रतिदिन बढिरहेको कार्यालयको कम्प्युटर अपरेटर इच्छा तामाङले बताउनुभयो । महिलाहरू सङ्ख्या बढिरहेकोले झण्डै पुरुष सरह पुग्न लागेको उहाँले जानकारी दिनुभयो ।  

चालु आर्थिक वर्षमा कात्तिकसम्ममा दुई हजार ८२१ जना महिलाले राहदानी बनाएको तामाङले जानकारी दिनुभयो । सोही अवधिमा दुई हजार ८२१ जना पुरुषले राहदानी बनाएका छन् । तामाङका अनुसार साउन महिनामा ६६२, भदौ महिनामा ६८८ जना, असोजमा ५७४, कात्तिकमा ५३६ जना महिलाले राहदानी बनाएका छन् । सोही अवधिमा साउनमा ७८०, भदौमा ८३०, असोजमा ६०१  र कात्तिकमा ६१० जना पुरुषले राहदानी बनाएका छन् । असोज र कात्तिकमा दसैँ र तिहार परेकाले सङ्ख्या कम भएको तामाङले जानकारी दिनुभयो । 

प्रशासन कार्यालय भित्रै वैदेशिक रोजगारीको क्रममा नठगिउन् तथा सुरक्षित रहने उपायबारे जानकारी दिने भन्ने मुख्य उद्देश्यले परामर्शको व्यवस्था गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, सुरक्षित वैदेशिक रोजगारीको लागि आप्रवासी स्रोत केन्द्रले कार्यालयमै परामर्श दिँदै आएको हो । अधिकांश महिलाले वैदेशिक रोजगारीको राहदानी बनाउन आएको बताउने गरेको सामी कार्यक्रमको परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो । स्वदेशमा रोजगार पाउन कठिन भएकोले विदेश जान चाहेको बताउने गरेको उहाँले बताउनुभयो । महिलाहरूमा पुरुष सरह काम गर्न सकिन्छ भन्ने भावानले गर्दा विदेशिने क्रम बढ्दै गएको तिवारीले बताउनुभयो । 

आफ्नो देशमा रोजगार नपाइने, पाएपनि लाउन र खान नपुग्ने भएकोले विदेश जानको लागि राहदानी बनाउन आएको व्यास नगरपालिका–१ भादगाउँ निवासी मेनुका दुलाल उपरकोटीले बताउनुभयो । उहाँले विदेशमा ब्यूटीपार्लरको काममा जान चाहेको बताउनुभयो । सोही ठाउँ निवासी मनीषा ठकुरीले स्वदेशमा जागिर खोज्दा खोज्दै नपाएर हैरान भएर विदेश जान लागेको बताउनुभयो । 

शुक्लागण्डकी नगरपालिका–१० की छलिमाया विकले कृषि पेसाबाट जीवन धान्न कठिन भएकोले बाध्य भएर वैदेशिक रोजगारीको लागि राहदानी बनाउन आएको बताउनुभयो । विकले भन्नुभयो, "छोराछोरी पाल्न र पढाउन कठिन भएकोले विदेश जान चाहेको हुँ, कुन देश राम्रो हुन्छ बुझिरहेको छु ।" म्याग्दे गाउँपालिका–५ सलिना गुरुङ रोजगारीको लागि कारिया जाने सपना भएकोले राहदानी बनाउन आएको बताउनुभयो ।