• २५ असार २०८२, बुधबार

सेतीखोला क्यासकेडमा जुट्यो लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २५ गते । सेतीखोला जलविद्युत् आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ । ९.८ मेगावाटको उक्त आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) को अगुवाइमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ भएर बग्ने सेती नदीमा यो आयोजना निर्माण हुने छ । लगानी सम्झौतापत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष अनुप आचार्य र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गर्नुभएको छ । 

आयोजनाको कुल लागत एक अर्ब ९८ करोड रुपियाँमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वः पुँजीमा आयोजना बनाउन लागिएको हो । स्वः पुँजीतर्फ आफ्नो समूहका अतिरिक्त डोल्मा इम्प्याक्ट फन्डको लगानी रहने आचार्यले जानकारी दिनुभयो । 

सेतीखोला हाइड्रोले नै निर्माण गरिरहेको २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । सोही परियोजनाको टेलरेसबाट निस्केको पानी सदुपयोग गर्ने गरी सेतीखोला क्यासकेड जलविद्युत् आयोजना (९.८ मेगावाट) बनाउन लागिएको हो । आयोजनाको प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सल्टेन्स रहेको छ । 

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० कात्तिक १ गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । क्यासकेड आयोजनाबाट २०८६ वैशाखभित्र व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको आचार्यले जानकारी दिनुभयो । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि ४.४ किलोमिटर दुरीको ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत सेतीखोला जलविद्युत् आयोजनाको स्विचयार्डमा पु¥याइने छ ।