• २५ असार २०८२, बुधबार

‘प्रणालीमै आमूल सुधार आवश्यक’

blog

गोरखापत्र समाचारदाता

ललितपुर, असार २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धि तथा औद्योगिक विकासका लागि समग्र प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यसका लागि वर्तमान सरकारले चरणबद्ध रूपमा काम गरिरहेको जानकारी गराउनुभयो ।

मन्त्री भण्डारीले आर्थिक विकासको मुख्य संवाहक निजी क्षेत्र नै रहेको र यही क्षेत्रले प्रशासनिक तथा अन्य प्रणालीगत झमेला भोग्नु परेको भन्दै यसलाई हटाउन विभिन्न नीतिगत तथा कानुनी सुधार गरिरहेको उल्लेख गर्नुभयो । “नेपालको व्यापार र उद्यमशीलतालाई अनुकूल हुने गरी कानुन निर्माण तथा परिमार्जन भइरहेको छ,” उहाँले भन्नुभयो, “उद्योगीले उठाउँदै आएका प्रश्नलाई गम्भीर र निर्मम रूपमै भए पनि सम्बोधन गर्न हामी लागि परेका छौँ ।”

औद्योगिक विकासलाई नेतृत्व गर्नुपर्ने निकायका रूपमा आफ्नो मन्त्रालयले पर्याप्त बजेट प्राप्त नगरेको उल्लेख गर्दै सीमितताका बिच पनि उद्योगमैत्री वातावरण निर्माणका लागि मन्त्रालय सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो । “उद्यम विकासका लागि हामी नीतिगत चुस्तता हामीले खोजेका छौँ, यसका लागि निजी क्षेत्रको अपेक्षा अनुसार सहकार्यमा काम गर्न सक्छौँ ।” कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान खस्कँदै गएकोमा दुःख व्यक्त गर्दै यसलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

परिसङ्घका अध्यक्ष राजेशकुमार आग्रवालले मागमा आएको सङ्कुचन, उधारो असुलीका समस्या, अवैध आयात तथा कारोबारले उद्योग व्यवसाय समस्याग्रस्त भएको उल्लेख गर्नुभयो । “न्यून मुद्रास्फीति, एक विन्दुको ब्याजदर, वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम रहेको भए पनि समग्रमा माग बढ्न नसक्दा उद्योग व्यवसायीले ऋण लिन सकिरहेका छैनन्,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा पनि लगानी बढाउन नसकिने अर्थतन्त्रको सबैभन्दा ठुलो चुनौती यही हो ।”

अध्यक्ष अग्रवालले चुनौतीका चाप रहे पनि नेपालको अर्थतन्त्रको आकार एक सय अर्ब अमेरिकी डलरको आकारमा पु¥याउन सकिने जिकिर गर्नुभयो । सरकारले नीतिगत सुधार गर्ने निजी क्षेत्रलाई लगानीको उत्साह थपिदिने र प्रवर्धन गर्ने काम गर्नु अपरिहार्य रहेको उहाँको भनाइ थियो । “सरकारले साथ दिनु पर्छ, एक सय अर्ब डलरको अर्थतन्त्र र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हाम्रै समयमा पुग्छ र पुग्नु पर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा परिसङ्घका पूर्वअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले दोहोरो अङ्कको आर्थिक वृद्धि र अर्थतन्त्रको आकार विस्तारमा निजी क्षेत्रका विभिन्न संस्थाबिच सहकार्य र सरकारको साथ आवश्यक पर्ने बताउनुभयो । उहाँले वर्तमान सरकार उद्योगीका समस्या समाधान, लगानी प्रवर्धनमा लागिरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रको विस्तारका लागि जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन कृषिलगायतका क्षेत्रमा लगानी अझै विस्तार गर्दै जानुपर्ने धारणा राख्नुभयो ।