• २५ असार २०८२, बुधबार

लालपुर्जाको आसमा सात दशक

blog

बबई समाचारदाता 

बबई (बर्दिया), असार २५ गते । सात दशकभन्दा लामो समयदेखि बर्दियाको राजापुर बजार क्षेत्रमा बसोबास गर्ने ३०४ घरधुरीले अहिलेसम्म पनि जग्गाधनी प्रमाणपुर्जा पाउन सकेका छैनन् । २०७४ सालभन्दा पहिला राजापुर बजार क्षेत्रमा बसोबास गर्ने स्थानीयले सरकारी जग्गा प्रयोग गरेबापत सरकारलाई जग्गाको बैठकी कर तिर्दै आएका थिए । 

२०७४ सालमा नेपाल सरकार मन्त्रीपरिषद्ले निर्णय गरेर उक्त स्थानमा बसेकालाई बालबिटौरी कर तिर्न बाटो खोलिदिएपछि अहिले पनि राजापुर बजार क्षेत्रका स्थानीयले नगरपालिकालाई बालबिटौरी कर तिर्दै आइरहेका छन् । राजापुर नगरपालिका–४, राजापुरका स्थानीय फलफूल व्यापारी अनिश सेखले भन्नुभयो, “हामीलाई जग्गाधनी पुर्जा नभएका कारण बैङ्कले समेत लगानी गरेको छैन ।”  मन्त्रीपरिषद्को निर्णयले गठित समितिले तीन महिनाभित्र काम सकेर राजापुर बजारमा बसोबास गर्नेलाई पुर्जा हस्तान्तरण गर्न तीन महिनाको समय दिए पनि समय अपुग भएकाले उनीहरूले पुर्जासमेत पाउन सकेका छैनन् । राजापुर बजारका कपडा व्यापारी जगदम्बा गुप्ताले राजापुर बजारमा व्यवसाय गर्दै आएकाले पनि आफ्नो सम्पत्ति बैङ्कमा राखेर काम गर्ने वातावरण नभएको बताउनुभयो । 

राजापुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका भूमिहीनको समस्या अहिले विकराल बन्दै गएको छ । डेढ धुरदेखि १२ धुरसम्ममा स्थानीयले घर निर्माण गरेर व्यवसाय गर्दै आइरहेका छन् । स्थानीय व्यापारी सुखराम थारूले सात दशक पूरा हुँदा पनि जग्गाधनी पुर्जा पाउन नसकेको बताउनुभयो । राजापुर बजार क्षेत्रमा मन्त्रीपरिषद्को निर्णय गठित समितिले समय अभावमा पुर्जा हस्तान्तरण गर्न नसकेपछि अहिले पनि त्यो काम यथावत् छ । राजापुर नगरपालिका–४ का वडाध्यक्ष विदुर पोख्रेलले भूमि समस्या समाधान गर्न सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगमा सबै कागजपत्र बुझाइएको बताउनुभयो ।