नारद कोहार
तौलिहवा, मङ्सिर ६ गते । विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा स्टिमर सञ्चालनमा रोक लगाइएको छ । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुले गत कात्तिक २८ गतेदेखि तालमा स्टिमर सञ्चालनमा ल्याएको थियो । तालमा सञ्चालन रहेको स्टिमर डिभिजन वन कार्यालय कपिलवस्तुले रोक लगाएको हो ।
पन्क्षी आरक्षण व्यवस्थापन कार्य योजनामा नरहेको र चराहरूको बास स्थानमा नै खलल पुगेको भन्दै वनले उक्त स्टिमर सञ्चालनमा रोक लगाएको हो । स्टिमर सञ्चालन भएपछि चरा विद्हरूले त्यसको विरोध समेत गरेका थिए ।
डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुबेदीका अनुसार कार्य योजना मै नरहेको र बिना जानकारी सञ्चालन गरिएपछि तालमा स्टिमर सञ्चालनमा रोक लगाइएको बताउनुभयो । तालमा सञ्चालनमा रहेको स्टिमरलाई रोक्न प्रमुख सुबेदीले वन रक्षकहरूलाई पठाएका थिए ।
तालमा सोमवारदेखि नै स्टिमर सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, "कार्ययोजनामै नरहेको कुरा मञ्चले जबरजस्ती सञ्चालन ग¥यो, त्यसैले हामीले स्टिमर सञ्चालनमा रोक लगायौँ ।" स्टिमरले तालमा रहेको चार तथा जीवजन्तुलाई आउने आवाज र पानीको छालले बास स्थान नै सङ्कटमा परेको प्रमुख सुबेदीले बताउनुभयो । उहाँले कार्य योजना अनुसार तालमा ५ वटा पाइडल ढुङ्गा भने सञ्चालन मै रहेको बताउनुभयो । तालको पश्चिमी क्षेत्रको करिब ५ हेक्टर क्षेत्रमा स्टिमर चलाइएको थियो । मञ्चले ०७६ सालदेखि यहाँ पाइडल ढुङ्गा ठेक्का लगाउँदै आएको छ ।
चराविद् भूपाल नेपालीका अनुसार चराहरूको वासस्थान नै सङ्कटमा पर्ने भएकाले तालमा स्टिमर सञ्चालन गर्न नहुने बताउनुभयो । कपिलवस्तु नगरपालिकाले मञ्चलाई स्टिमर खरिदका लागि ५ लाख अनुदान दिएको थियो । मञ्चले थप लगानी गरी १३ लाख ५० हजारको लागतमा स्टिमर खरिद गरेको हो ।
मञ्चका अध्यक्ष ललित गुरुङले पर्यटक तान्न र स्थानीयलाई आय आर्जनसँग जोड्न तालमा स्टिमर सञ्चालन गरिएको बताउनुभयो । चराहरूको वासस्थान र आगमनलाई रोक्ने आफूहरूको मनासय नरहेको उहाँको भनाइ छ । उहाँले आफूहरूले परीक्षणका रूपमा मात्र स्टिमर सञ्चालन गरेको बताउनुभयो । स्टिमर चढ्न दैनिक ४ सय पर्यटक आउने गरेका थिए ।
तालमा साइबेरिया, रुस, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरू आउने गरेको चराविद्हरू बताउँछन् । ती देशहरूमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेका हुन् । जगदीशपुर जलाशय हिउँदे आगन्तुक चराहरूको स्वर्गीय आश्रयस्थल पनि हो ।
एक सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । सिँचाइ प्रयोजनका लागि २०३५ सालतिर बनाइएको हो । यो तालबाट कपिलवस्तुको कुल ६२०० हेक्टर खेतीयोग्य जमिन सिञ्चित गर्न पानी आपूर्ति हुने गर्दछ । ताललाई लुम्बिनी प्रदेश सरकारको पहलमा सन् २०२२ मा वार्ड स्याङचुरी (पन्छी आरक्ष) क्षेत्र घोषणा गरिएको थियो ।