• १ जेठ २०८२, बिहिबार

महङ्गो उपचार : नसर्ने रोगको मारमा गरिब परिवार

blog

गुल्मी अस्पतालमा मिर्गौला डाइलासिस गराउँदै धुर्कोट गाउँपालिका–१ की ६५ वर्षीया आशादेवी दर्जी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, जेठ १ गते ।
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका राजु दर्जीले तीन वर्ष आमाको उपचार गर्दा २० लाख सक्नुभयो । आमा ६५ वर्षीया आशादेवी दर्जी मिर्गौला, क्यान्सर र पायल्सले पीडित हुनुहुन्छ । उहाँको दुई वर्ष बुटवल र अहिले तम्घासमा हप्तामा तीन दिन डाइलासिस भइरहेको छ । विस्तारै मिर्गौलाको समस्या माथि पायल्स बल्झियो । अहिले त आशादेवीलाई दुई महिनादेखि क्यान्सर समेत देखिएको छ । जीवनभर कमाएको पैसा आमाको उपचारमा सकिएपछि अहिले कसैले नपत्याउने अवस्था बनेको राजुले गुनासो गर्नुभयो ।

त्यस्तै, कक्षा ८ मा पढ्दै गर्दा छत्रकोट गाउँपालिका–४ दिगामका २२ वर्षीय सुनील सोमरेका दुवै मिर्गौला फेल भए । दिगामस्थित आदर्श माविमा कक्षा ८ मा पढ्दै गर्दा २०७५ सालमा सोमरेलाई गम्भीर रोगले छोप्यो । जसका कारण स्कुल छोडेर अस्पताल र घर गर्नुपर्ने अवस्था रहेको छ । बुवा हरिबहादुर सोमरे छोरा पढाएर ठुलो मान्छे बनाउन चाहानाकै कारण स्थानीय फर्निचर उद्योगमा मरिमेटेर काम गर्नुहुन्थ्यो । तर त्यहि छोराकै उपचारमा सम्पत्ति सकिन थाल्यो । काठमाडौँ पुर्‍याएरै प्रत्येक तीन–तीन महिनामा डायलाइसिस गराउनुभएका हरि बहादुरले अहिले गुल्मी अस्पतालमा छोराको डायलाइसिस गराइरहनुभएको छ ।

इस्मा गाउँपालिका–४ का केशवबहादुर मगरले आर्थिक अभावका कारण १६ वर्षीय छोरी कृष्णा मगरलाई गुमाउनुभयो । कृष्णाका हातखुट्टा एक्कासी नचल्ने भए । मगरले छोरीलाई बुटवल र काठमाडौँ धेरै पटक पुर्‍याउनुभयो । तर अस्पतालले बिमार पत्ता लगाउन सकेनन् । कैयौ वर्ष छोरी कृष्णा र परिवारले दुःख झेले । तर केही समय अगाडि छोरी कृष्णाले संसार छोडिन् । गाउँको पाखो बारी बाहेक सम्पत्ति केही थिएन् । ‘‘न छोरी रह्यो, न सम्पत्ति । दैवले तड्पाउनु तड्पाएर लग्यो,’’ केशवले भन्नुभयो, ‘‘अब गाउँभरी ऋण र गहभरी आँशु बाहेक केही रहेन ।’’

जिल्लामा नसर्ने गम्भीर प्रकारका नसर्ने रोगहरूको सङ्ख्या वृद्धि हुँदै गएको छ । सरकारले यसको नियन्त्रणमा प्रयाप्त काम गर्न सकेको छैन । नागरिकले उपचारका लागि सबै सम्पत्ति र ज्यान पनि गुमाउने स्थिति अन्त्यका लागि सरकारले काम गर्नुपर्ने नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेयले बताउनुभयो । सरकारले बजेट अनावश्यक पूर्वाधार र फजुल खर्चमा सके पनि स्वास्थ्य सचेतना र उपचारमा उल्लेख्यक काम गर्न नसकेको उहाँको भनाइ छ ।

संघ र प्रदेशले नसर्ने गम्भीर प्रकारका रोगहरूबाट पीडित व्यक्तिहरूलाई विभिन्न किसिमको सहयोग गर्दै आएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार सङ्घीय सरकारले विपन्न नागरिक उपचार कोष मार्फत सात किसिमका रोगबाट पीडितलाई दुई लाख सहयोग गर्दै आएको छ । आर्थिक वर्ष ०८०/०८१ मा गुल्मीबाट मिर्गाैला पीडित ५५, मुटुको रोगी १२०, क्यान्सरका १७७, हेड इन्जुरीका एक र स्पाइनल इन्जुरीका ११ गरेर ३६४ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो । सानो जिल्लामा साढे तीन सय बढी मुटु, मिर्गौला र क्यान्सर लगायतका रोगका बिरामी हुनु राम्रो सङ्केत नभएको आचार्यले बताउनुभयो ।