तिलाचन पाण्डे
तम्घास, जेठ १ गते । रुरुक्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्नका लागि भजन प्रतियोयागिता आयोजना गरिएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपमा थप प्रचारप्रसार गर्नका लागि जेठ नौ गते भजनप्रतियोगिता आयोजना गरेको हो ।
जन प्रतियोगितामा पालिका भित्रका भजन कीर्तनमा क्रियाशिल भजन समूह, समिति, धाम तथा मन्दिर सञ्चालक समितिहरु रअन्य सामाजिक संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । भजन प्रतियोगितामा बढीमा १२ जनाको समूह हुनुपर्ने, धार्मिक, सांस्कतिक र पर्यटकीय महत्त्व झल्किने भजनलाई प्राथमिकता दिने गाउँपालिकाले जनाएको छ । भजन प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार, सान्त्वनालाई पाँच हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको पाण्डेले बताउनुभयो ।
यसका साथै उत्कृष्ट नृत्यलाई नगद दुई हजार प्रदान गर्ने गरी व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।
रुरुक्षेत्रमा मकर सङ्क्रान्तीमा विशेष मेला लाग्ने गर्दछ । चार धाम मध्येकै रुरुक्षेत्र धाममा असारे ठुलाएकादसी, हरिबोधनी एकादसी, मकरसङ्क्रान्तीमा कालीगण्डकी नदी स्नान गर्नका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गर्दछन् । कालीगण्डकी नदीमा स्नान गर्नाले जान, अञ्जानमा गरेका पापहरू नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ ।
यस क्षेत्रमा शालिग्राम पाइने भएकाले गत महिना पहिलो शालिग्राम महोत्सव पनि सम्पन्न भएको छ ।