• १३ असोज २०८१, आइतबार

दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने

blog

वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठ र वरिष्ठ पत्रकार धर्मेन्द्र झा ।

काठमाडौं, मङ्सिर ६ गते । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य  पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने दुवै पुरस्कारको राशि रु. क्रमशः  ५१ हजार र २५ हजार छ । नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा बढी समय दिएको योगदानका लागि वरिष्ठ पत्रकार झालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो ।

यस अघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा.माधवप्रसाद पोखरेल, डा .विष्णुविभु घिमिरे, एस्पी कोइराला  प्रा.डा. चूडामणि बन्धु र सनत रेग्मीलाई प्रदान गरिएको थियो । साथै पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल, भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपियाँको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिँदै आएको छ । यस वर्षका पुरस्कारहरू आगामी २०८० मङ्सिर ३० गते विशेष समारोहको आयोजना गरी विराटनगरमा समर्पण गरिनेछ ।