• २ जेठ २०८२, शुक्रबार

विद्यार्थी 'पढ्दै कमाउँदै'

blog

इमान सिं राना

रामपुर (पाल्पा), मङ्सिर ५ गते । रामपुर नगरपालिकाको आधारभूत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का छात्रा अमिरा आलेले पढाईसँगै भदौमा ८ हजार आम्दानी गर्नुभयो । विद्यालयले सञ्चालन गरेको पशुपंक्षी फर्मबाट गत माघदेखि उहाँले कुखुरा पालन गरेर आम्दानी गर्नुभएको हो ।  

अमिराले मात्र होइन प्राविधिक धारतर्फ पशुविज्ञान विषय अध्ययन गर्दै आउनुभएका कक्षा १० का रविन पुलामी, उत्तम राना र कक्षा १२ का सङ्गम रानाले ८÷८ हजार कमाई गर्नुभयो । दिउँसो विद्यालय र अन्य समय विद्यालयले सञ्चालन गरेको फर्ममा आवासीय सुविधा लिएर अध्ययन गरेको टोलीले ७ महिनाको अवधिमा ४ सय कुखुरापालन गरी आम्दानी गरेको लिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई यो अवसर प्रदान गरेको हो । 

छात्रा अमिरा आलेले कार्यक्रम लागु भएपछि विद्यालयमा अध्ययन गरेको ज्ञान व्यवहारमा लागु गर्ने अवसर प्राप्त भएको बताउनुभयो । पढेको कुरा सिक्दै काम गर्दा रमाइलो लागेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “विद्यालयमा अध्ययन पश्चात हामीले पढेको आधारमा फर्ममा २ लट कुखुरा पालेर विक्री गर्न सफल भयौं । किताबका कुरा आफैंले व्यवहारमै लागु गर्दा सिकाइ पनि थप दिगो हुने रहेछ ।” छात्र रविन पुलामीले कार्यक्रमले पढेको कुरा व्यवहारमा लागु गर्न थप सहज बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुको लट हामीलाई घाटा भयो । हामीले राम्ररी जानेका थिएनौं नि । गल्तीहरु भएको थियो । सुधार गरेर दोस्रो लटमा फाइदा गर्न सफल भयौं ।” व्यवसायको नाफा घाटाले हारेर पनि कसरी जित्ने भन्ने पाठ सिकाएको अनुभव सुनाउनुभयो । अर्का छात्र कृष्ण गौतमले पढ्दै कमाउँदै कार्यक्रमबाट व्यावसायिक रुपमा लाग्न उत्प्रेरणा प्राप्त भएको बताउनुभयो ।

विद्यालयले ३० रोपनी जग्गा लिजमा लिएर फर्म सञ्चालन गर्दै आएको छ । फर्ममा माछा, भैंसी, बाख्रा, बङ्गुर, हाँस, बट्टाई, स्थानीय तथा ब्रोइलर कुखुरा पाल्दै आएको छ । विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमले कार्यक्रम लागु भएसँगै सुरुवातमा खोर, पोखरी तथा आवास निर्माण गरेर फर्म सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । अहिले फर्म मै बसेर केहीले आम्दानी गर्न सफल भएको र अन्य विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सञ्चालन गर्न सहज भएको बताउनुभयो । “पछिल्लो वर्षबाट विद्यालयले फर्म मै बस्ने विद्यार्थीलाई आवासको सुविधासहित विद्यार्थीलाई पशुपक्षी पालनका लागि विद्यालयले लगानी गर्ने र खर्च कटाएर नाफा बाँड्ने गरिएको छ । उनीहरुले ७÷८ हजार सम्म आम्दानी गर्न सफल भएका छन्,” गौतमले भन्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले ८ पासपछि टाढाका विद्यार्थीलाई आर्थिक अभाव चाहेर पनि पढ्न नसक्ने अवस्था आउन नदिन होस्टेललाई व्यवस्थित गरी उनीहरुलाई पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खर्च नभएकाहरुले पनि पढ्न सकुन्, कक्षा १२ पछि विद्यार्थीहरु सक्षम बनुुन्, पढ्न चाहने पढ्न गए पनि अन्य कोही पनि बेरोजगार नबनुन् भन्ने हाम्रो ध्येय हो ।” रामपुर नगरपालिकाले पनि व्यावहारिक शिक्षासँगै पढ्दै कमाउँदै कार्यक्रम लागु गर्न विद्यालयलाई प्रोत्साहन गर्ने नीति लिएको शिक्षा शाखा अधिकृत विकल काफ्ले जानकारी दिनुभयो । 

स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन भएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पाल्पामा आधारभूत माविमा मात्र सञ्चालनमा रहेको छ । शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जिल्लाको एक मात्र विद्यालयमा यो कार्यक्रम लागु भएको जानकारी दिनुभयो । उहाँले प्राविधि शिक्षाको महत्व अभिभावकसम्म पुर्‍याउन नसक्दा प्राविधिक धारमा हालसम्म विद्यार्थीहरुको उपस्थिति न्यून रहेको बताउनुभयो । “सरकारले प्राविधिक शिक्षालाई अत्यन्तै महत्व दिएर देशैभर सञ्चालन गरेको छ । प्रति कक्षा विद्यार्थी ४८ जना भर्ना हुने व्यवस्था गरे अनुसार सोही अनुसार शिक्षक तथा पूर्वाधार विकासका लागि लगानी गरिएको छ । तर पछिल्लो वर्ष भर्नादर सङ्ख्या अनुसार हुन सकेको छैन,” सुवेदीले भन्नुभयो । 

२०७४ देखि प्राविधिक धारको कक्षा सञ्चालन सुरु भएको आधारभूत माविमा हाल कक्षा ९ देखि १२ सम्ममा विभिन्न स्थानका ५७ जना विद्यार्थी अध्ययनरत छन् । १० र १२ कक्षाको पालो विद्यालयले अहिले नौ र ११ कक्षालाई फर्ममा आवासीय सुविधासहित राख्ने तयारी गरेको छ । फर्मको रेखदेखका लागि २ जना हेरालु राखिएको छ । विद्यार्थीहरु दैनिक रुपमा पशुपक्षीकाे दानापानीका लागि पुग्ने गर्दछन् । उनीहरुले फर्ममा रहेका पशुपक्षीकाे उपचार गर्दै आएका छन् । साथै विद्यालयले कृषकहरुको सहजताका लागि सञ्चालन गरेको भेटेनरी क्लिनिक र ल्याबमा पनि उनीहरु सक्रिय भएर खट्दै आएका छन् ।