• १३ असोज २०८१, आइतबार

श्रेष्ठको एकल चित्रकला प्रदर्शनी सुरु

blog

शिवा तामाङ 

काठमाडौँ, मङ्सिर ४ गते । कलाकार उदयचरण श्रेष्ठले गायत्री मन्त्रको आधारमा ‘गायत्रीदेवी’ को सजीव चित्रकला तयार पार्नुभएको छ । चित्रमा मुकुटसहितको पञ्चमुख र दस हात छन् भने यसमा प्रयोग भएका गहनाले नेपाली मन्दिरमा राखिएका देवदेवीका लागि पहि¥याउने शृङ्गारको झल्को दिन्छ, पञ्च मुखाकृतिको तेजिलो आँखाले चित्रलाई जीवन्त बनाएको छ । चित्र ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) ले सङ्कलन गरेको छ । कलाकार श्रेष्ठका चित्रसँगै थुप्रै परम्परागत चित्रकलासहित राजधानीमा एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । शास्त्रमा आधारित चित्रकलामा मानव मुखाकृति र व्यावहारिक जीवनशैलीमा प्रयोग हुने गरगहनाको प्रयोग गरी नौलो प्रयोगात्मक अभ्यास गर्ने कलाकारको रूपमा उहाँको छुट्टै पहिचान छ । 

म्युजियम अफ नेपाली आर्टमा एक कार्यक्रमबिच काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले उद्घाटन गर्नुभएको कलाकार श्रेष्ठको एकल चित्रकला प्रदर्शनीमा उहाँका विविध सिर्जना समावेश छन् । प्रदर्शनीमा राखिएका चित्रकलाहरू विशेष गरी कला सङ्कलकहरूबाटै प्राप्त भएको कलाकार उदयचरण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्परागत चित्रकला सिर्जना गर्ने कलाकारलाई एक चित्रकला तयार गर्नै वर्षौं समय लाग्छ, शास्त्रमा आधारित मन्त्र, सम्बन्धित देवताको वाहन, देवताको पनि काम, धर्मसम्बन्धी लामो अध्ययनपछि मात्र चित्रमा उतार्न मेहनत र तपस्या नै गरिन्छ, यस कारण कलाकार स्वयम्सँग चित्रकलाको धेरै सङ्कलन हुन्न ।” उहाँले कला प्रदर्शनीका लागि आफूले सङ्कलन गरिराखेको चित्रकला प्रदान गरेर सहयोग गर्नुहुने सबै कलाका पारखी कला सङ्कलकहरूलाई विशेष धन्यवाद दिँदै उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । 

म्युजियम अफ नेपाली आर्टका संस्थापक/ निर्देशक राजन शाक्यले आठ महिनासम्मको दिनरातको मेहनतले कलाकार उदयचरण श्रेष्ठको एकल चित्रकलाको आयोजना गर्न सफल भएको बताउनुभयो ।

निर्देशक शाक्यले नेपाली संस्कृति/परम्परागत मौलिक पनको महìवसँगै कलाकार श्रेष्ठका दुर्लभ र विशेष सिर्जनासँग साक्षात्कार गर्न मोनामा नोभेम्बर १८ देखि जनवरी १ सम्म कलाकार, कला सङ्कलक, समीक्षकलगायत कला मन पराउने सबैलाई आउन आग्रह गर्नुभयो ।  कला प्रदर्शनीको अवलोकन गर्न पुग्नुभएका कलाकार राजप्रकाश तुलाधरले कलायात्राको दौरानमा कलाकार उदयचरण श्रेष्ठले परम्परागत चित्रकला तयार गर्दा चित्रकलाको स्तरीयता र शास्त्र संवत् बनाउन दिनुहुने सल्लाह, सुझाव आफ्ना लागि प्रेरणादायक रहेको बताउनुभयो ।

प्रदर्शनीमा राजमती, महालक्ष्मी, शक्ति, आर्यतारा, वज्रवाराही, चन्दा भैरव, कौमारी, लोकेश्वरहरू, गणेश, गौरीशङ्कर भैरव र ब्रह्मायणीलगायतका परम्परागत चित्र हेर्ने अवसर छ । साथै गोरखापत्र संस्थानद्वारा बालबालिकाका लागि प्रकाशित मुना मासिकका लागि गरेको स्केच, इलेस्ट्रेसन र रङ, ब्रसलगायत चित्रकला तयार पार्दा आवश्यक प्रक्रियासमेत राखिएका छन् ।