• ८ मंसिर २०८१, शनिबार

थोक बजारमा सस्तियो तरकारी

blog

काठमाडौँ, मङ्सिर ४ गते । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् । 

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो सातासम्म प्रतिकेजी ९० रुपियाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २०  रुपियाँमा झरेको छ । सो अवधिमा रातो आलु प्रतिकेजी ९० रुपियाँबाट घटेर ६० रुपियाँमा झरेको छ । त्यस्तै मुला, बन्दा, सागलगायतका तरकारी सस्तिएको छ । 

कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेकी सतुङ्गलकी कविता क्षेत्रीले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको अनुभव सुनाउनुभयो । काउली अहिले प्रतिकेजी ६० रुपियाँमा किन्नुपर्छ तर यहाँ त त्यही काउली ६० रुपियाँमा तीन केजी आयो, आलु, बन्दा, गोलभेँडा चम्सुर, पालुङको साग त्यत्तिकै सस्तो उहाँले आफ्नो अनुभव सुनाउनुभयो । 

कालीमाटी बजारभित्रै रहेको खुद्रा बजार र थोक बजारको तरकारी मूल्य अन्तर हेर्दा पनि आधाभन्दा बढीको अन्तर भएको अनुभव उहाँसँगै तरकारी किन्दै गर्नुभएका विक्रम पुडासैनीले सुनाउनुभयो । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो २०/२२ दिनको बिचमा मौसमी तरकारीको भाउ शतप्रतिशत सस्तिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बजारमा तरकारीको माग नै कम छ आएको तरकारी पनि बिक्री गर्न गाह्रो छ । थोक बजारमा मौसमी मात्रै होइन, बेमौसमी तरकारी पनि सस्तिएको छ ।” 

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आगमन पुरानो लयमा फर्किएसँगै भाउ सस्तिएको बताउनुभयो । उहाँका अनुसार तिहारपछि बजारमा दैनिक औसतमा आठ सय मेट्रिक टनको हारहारीमा तरकारी भित्रिने गरेको छ । 

समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ । बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज गोलभेँडा कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ । हरिया तरकारीको भाउ सस्तो भएको र मौसमी तरकारी अझै सस्तिने क्रममा रहेको उहाँको भनाइ छ । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले थोक र खुद्रामा तरकारीको मूल्य अन्तर शतप्रतिशत हँदा पनि अनुगमन नहुने सरकारको नियमनकारी निकायको उदासीनता हो भन्नुभयो । तरकारी र फलफूलमा थोक र खुद्राबिच अहिले मात्रै नभएर सधैँ महँगो हुने गरेको र यसको अनुगमनका खासै सरकारका निकायको ध्यान नगएको उहाँको भनाइ छ । कानुनले स्थानीय बजार अनुगमनको अधिकार स्थानीय सरकारलाई दिए पनि स्थानीय सरकारले त्यस विषयमा अहिलेसम्म जिम्मेवार भएर काम गर्न नसकेको महर्जनले बताउनुभयो । 

 यता अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले सरकारको बजार अनुगमन तरकारीमा मात्रै केन्द्रित हुन नसके पनि थोक र खुुद्रा मूल्यमा अन्तरका विषयमा जानकार भएको स्वीकार गर्नुभयो । सरकारको सीमित साधन स्रोत र जनशक्तिको अनुगमन सबैतिर सम्भव नहुने भएकाले स्वयम् उपभोक्ता नै मूल्यका विषयमा सचेत हुनुपर्ने उहाँको भनाइ छ ।