• २१ असार २०८१, शुक्रबार

मोहना नदी घाटमा छठ पर्वको तयारी

blog

छठ पर्वका लागि मोहना नदी किनारमा गरिएको तयारी । तस्विर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, मङ्सिर ३ गते । तराइवासीले मनाउने महान् पर्व छठ पर्व मनाउन मोहना नदी किनारमा तयारी गरिएको छ । तयारी समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार छठमा पूजा गर्न आउने भक्तालुका लागि धनगढीको मोहना नदीघाटमा टेण्ट निर्माण, बिजुली बत्ती र रातिका लागि जाग्रामस्थलको निर्माण गरिएको छ ।  

शनिबारदेखि मोहनाघाटलाई शृङ्गार्न थालिएको हो । कैलाली भन्सारदेखि झण्डै एक किलोमिटर दूरीसम्म मोहना नदीको क्षेत्रलाई शृङ्गारिएको छ । तयारी समितिका अध्यक्ष मण्डलले मोहनाघाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको सङ्ख्या बढ्नेक्रममा रहेको बताउनुभयो । यस पटक एक लाख बढीले मेला भर्ने अपेक्षा गरिएको छ ।

आज साँझ अस्ताउँदो सूर्य र भोली सोमबार बिहान उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको पूजा आराधना गरी छठ पर्व मनाउने गरिन्छ । आज रातभर २६० छटढालामा बसेका पाँच हजारभन्दा बढी श्रद्धालुले भोलि सोमबार बिहान सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ ।

छठ पूजाको उद्घाटन आज साँझ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुहुनेछ । छठ पूजा सेवा समितिको आयोजनामा हरेक वर्ष मोहनाघाटमा पूजा कार्यक्रम हुँदैआएको छ । छठ पूजाको तयारीका लागि १५ लाख रुपियाँ खर्च हुने अनुमान आयोजकहरूले गरेको छ ।