• २१ असार २०८१, शुक्रबार

छठघाटतर्फ प्रस्थान गर्दै व्रतालु

blog

छठघाटतिर जाँदै ब्रतालुहरु । तस्बिर : लक्ष्मी चौधरी, जनकपुरधाम

जनार्जन खत्री

सर्लाही, मङ्सिर ३ गते । छठपूजाका व्रतालु धमाधम छठघाटतर्फ प्रस्थान गर्नेक्रम सुरु भएको छ । नजिकको पोखरी, खोला, नदी, नहरलगायतका जलाशयमा निर्माण गरिएका छठघाटमा पूजा सामग्री बोकेर व्रतालु पुगिरहेका हुन् । 

सूर्यको आराधना गरी मनाइने छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ । त्यसका लागि व्रतालु र परिवारका सदस्य बाँसको ढाकीमा पूजा सामग्री– केरा, स्याउ, सुन्तला, पानी भएको नरिवल, शुद्धसँग बनाइएको विभिन्न परिकार बोकेर छठघाटमा पुग्न थालेका हुन् । व्रतालु अब आइतबार रातभर नै छठघाटमै जाग्राम बस्छन् । 

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि यो वर्षको छठपर्व विधिवत् रूपमा समापन हुन्छ । प्रत्येक छठघाटमा छठ पर्वका गीत गुन्जिएका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठपूजाका लागि सर्लाहीमा २७४ भन्दा बढी स्थानमा छठघाट निर्माण गरिएको छ । 

प्राकृतिक जलाशय नभएका स्थानमा जनश्रमदान तथा डोजर प्रयोग गरेर कृत्रिम पोखरी निर्माण गरी छठीमाताको पूजा गर्ने तयारी रहेको स्थानीयले बताएका छन् ।