• २२ वैशाख २०८२, सोमबार

‘सिग्नेचर पुल’ को शिलान्यास

blog

पोखरा समाचारदाता

पोखरा, मङ्सिर १ गते । पृथ्वी राजमार्ग अन्तर्गत पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शिलान्यास गरिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुलको शिलान्यास गर्नुभएको हो । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो पुलको लागत एक अर्ब सात करोड २४ लाख रहेको बताइएको छ ।

नेपालकै नमुना सिग्नेचर’ पुल बन्ने गरी निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले डिजाइन गरेको छ । निर्माणाधीन ‘केबल–स्टेड’ प्रविधिको पुलको लम्बाइ १९०/१९० मिटर रहने छ भने चौडाइ ११/११ गरी २२ मिटर हुने छ । हाल भइरहेको पुललाई समेत गणना गर्दा छ लेनको पुल हुने छ । छ लेनको पोखरा मुग्लिन सडक विस्तार सँगसँगै यो पुल पनि सञ्चालनमा आउने मुग्लिन–पोखरा (पश्चिम खण्ड) सडक योजनाका योजना प्रमुख राजेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पुलको दुवैतर्फ २८ देखि ३५ मिटर गहिरा ३०/३० वटा गरी तलमाथि सम्पूर्णमा १२० वटा पाइल रहने छन् । १४ मिटरका चार वटा फाउन्डेसन टावरमा केबलबाट चार वटा एङ्कर ब्लक जडान गरी एक्स्ट्रा डोजको सिग्नेचर पुल बन्ने छ । 

यसलाई थप आकर्षण दिन आधुनिक तवरका बत्ती जडान हुने योजना प्रमुख पौडेलले जानकारी दिनुभयो । सो बत्तीको जडानले रातको समय पनि पुल सेरोफेरो पोखरालाई झिलिमिली पार्ने छ । पोखरा पर्यटकीय नगरी भएकाले पनि सौन्दर्यीकरण गरी सेल्फी पुलका रूपमा विकास गरी पर्यटकलाई आकर्षण गर्ने नीति लिएको बताइएको छ । निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्जिनियर सुदर्शन देवकोटाका अनुसार २०७९ साउनमा ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थल क्लियर नहुँदा काम सुरु गर्न ढिलाइ भएको हो । 

उहाँले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्माणको सम्झौता अवधि तीन वर्षको रहेको छ । उक्त पुलको शिलान्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले पुल निर्माणले पोखराको सौन्दर्य र यातायात प्रणालीमा सुधार हुने अपेक्षा गर्नुभयो ।

त्यस्तै प्रदेश भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जालीले पश्चिमी खण्डको काम निकै नै सुस्त रहेको बताउँदै निर्माण कम्पनीको सम्झौता रद्द गरी अर्को कम्पनीलाई दिनुपर्ने बताउनुभयो । सङ्घीय सांसद विद्या भट्टराईले पश्चिमी खण्डको काम सुस्त हुँदा पोखराको पर्यटनसँगै अन्य क्षेत्र पनि प्रभावित भएको बताउनुभयो । 

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराकै नमुना पुलको निर्माण कार्य समयमा सम्पन्न गर्न स्थानीय सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाउँदै निर्माणाधीन पुलले पोखराको पर्यटनमा थप टेवा पु¥याउने बताउनुभयो ।